अनिश शर्मा गैरे, काठमाण्डौ
सरकारले चैत्र ११ गतेबाट लगाएको बन्दाबन्दी खुले सँगै समुदायमा कोरोना भाइरस संक्रमणको त्रास बढेको छ । केही ठाँउमा त समुदायस्तर मै यो भाइरस देखिइसकेको छ । कम परिक्षण, त्यसैमाथी महामारी नियन्त्रण अगावै कोरोना नियन्त्रणको निम्ती लगाइएको लकडाउन खुलाइए सँगै देशभर नै कोरोना भाइरसको समुदायमा फैलने त्रास देखिएको हो ।
यसैबिच देशका बिभिन्न ठाँउका समुदायमा लोकल ट्रान्समिसनको संकेत समेत देखा परेका छन् । दैलेखमा कोरोना भाइरसको समुदायस्तरमा संक्रमण फैलीएको आशंकामा प्रशासनले निषेधाज्ञा नै जारी गरीसकेको छ । दैलेखको नारायण नगरपालिकामा ९६ जनामा परिक्षण गर्दा ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो । समुदायमा फैलीएको आशंकामा परिक्षण पनि तिव्र बनाइएको छ ।
त्यसैगरी पर्सामा पनि समुदायमा कोरोना भित्रिएको शंका छ । विरगन्ज महानगरपालिका भित्र पैसा तिरेर परिक्षण गराएका मध्ये २५ जनामा लक्षण सहितको कोरोना भाइरस देखिएको समाचार छ । कोभिड १९ को लक्षण देखिनेमा विशेष गरी चिकित्सक, विद्यार्थी, कर्मचारी लगायत रहेका छन । काठमाण्डौ उपत्यकामा पनि समुदायमा कोरोना देखिन सक्ने आंशका विज्ञहरुले गरेका छन । तर सरकारले भने समुदायमा नफैलीएको दावी गरेको छ ।
स्वास्थ्य मन्त्रालयको विहिबारको नियमित अपडेटमा जनाइए अनुसार विहिबार १४७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभरमा १८ हजार दुई सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । अधिकांश संक्रमितहरु निको भइ घर गएका छन् ।
सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराए । उनका अनुसार निको हुनेहरुको प्रतिशत ७०.३९ रहेको छ । त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म ६ जिल्ला कोरोनामुक्त भएका छन् ।
यो समय चाडपर्वको समय भएको कारण घरमै बसेर पर्व बनाउन तथा बाहिर जमघट नगर्न सरकारले आग्रह गरेको छ । मिडिया ब्रिफिङ्गमा डा. गौतमले अर्थतन्त्र लाइ चलायमान बनाउनको निम्ती मात्र लकडाउन खोलीएको भन्दै खुला रुपमा कुनै आवश्यकता विना घर बाहिर ननिस्कन आग्रह गरे । जथाभावी बाहिर निस्कने र सामाजिक दुरी पालना नगरेमा कोरोना संक्रमणको स्थिती खतरनाक हुन सक्ने विज्ञहरुले चेतावनी दिइसकेका छन् ।
मधुमेह, दम, श्वासप्रश्वास, मुटु, मिर्गौला लगायत विभिन्न दीर्घ रोग भएका बिरामी कोरोनाको बढी जोखिममा हुने भएकाले उनीहरुको विषेश हेरचाह गर्न पनि सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।






