बेलायतमा ए-स्टार बास्केटबल लिगको अन्तिम भिडन्त अगष्ट २७ मा हुँदै

लण्डन । ए-स्टार नेपलिज बास्केटबल लिगको फाईनल खेल अगष्ट २७ तारिखमा युनिभर्सिटी स्पोर्टस् सेन्टर अक्सब्रिजमा हुने भएको छ । लिगको उपाधिका लागि अन्तिम भिडन्त बलर्स स्लामर्स र स्यान्डहर्स्ट निक्सकाबीच हुने छ ।

लिग अन्तर्गत अहिलेसम्म भएका १४ खेलहरुमा बलर्स स्लामर्स १२ खेलमा जित तथा दुई खेलमा हारसहित २६ अंक पाएर शीर्ष स्थानमा छ भने स्यान्डहर्स्ट निक्स १४ खेलमा ११ वटामा जीत ३ वटामा हार बेहोरेर २५ अंक पाउँदै दोश्रो स्थानमा छ ।

उपाधि जित्ने समुहले ट्रफी तथा प्रमाण पत्र पाउने छन् । यस्तै, लिगको तेस्रो स्थानका लागि डिबीएस र वाटरमेलन स्नाचर्सका बीच खेल हुनेछ । यस्तै, सोही दिन महिलातर्फ ‘म खेल्छु’ टीमबाट दुई समूहले बास्केटबल खेल्नेछन् ।

प्रतियोगिताको अन्तिम दिनमा उपस्थितहरुका बीच अन्तरक्रियात्मक र मनोरन्जनात्मक खेलहरु, संगीत र नाचहरु पनि प्रस्तुत हुने बताईएको छ । विजयी र उपविजयी टीमका खेलाडीहरुलाई नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख रोशन खनालले प्रमाणपत्र तथा ट्रफी प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा हिलिङडन काउन्सिलका डेपुटी मेयर सेहर्यर अहमद वालाना, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, हाउन्स्लो काउन्सिलका काउन्सिलर विष्णु गुरुङ लगायतका समुदायका अगुवाहरुको उपस्थिति रहनेछ ।

नेपाल बास्केटबल युकेले आयोजना गरेको पहिलो सिजनको यस लिगको प्रायोजन ए स्टार फाइनान्सियल सोल्युसन्स युकेले गरेको छ भने मुस्ताङ मोटर्सको सहयोग रहेको छ । बेलायतमा नेपाली समुदायका युवाहरुमाझ बास्केट बल प्रतियोगीतालाई पुर्याउन लिगको आयोजना गरिएको हो । बेलायतमा रहेका नेपाली युवाहरुको पछिल्लो समय खेलकुदमा आकर्षण बढ्दो रहेको छ ।