शिव भण्डारी ,
लन्डन । नेपाली नयां वर्ष २०७६ को अवसरमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टओकले शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम आयोजना गरेको छ ।
आइतबार लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस भेन्यु मा राखिएको कार्यक्रममा नेपालबाट आएका तीन कलाकार तथा स्थानीय कलाकारहरुले सहभागी हरुलाई नचाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बालबालिकालाई नेपाली कक्षा सञ्चालन गर्ने केन्द्रको पहलको प्रशंसा गर्दै मातृभाषाले नै स्वदेशसंग जोडिराख्ने बताए। उनले आफ्नै अवाजमा रेकर्ड गरेका अडियो बुकहरू केन्द्रलाई उपहार स्वरुप दिए ।
केन्द्रका महासचिव भोला पनेरुले सञ्चालन गरेको कार्यक्रममा बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुंगले शुभकामना दिंदै नेपाली भाषा रहेमात्र नेपाली पहिचान रहने उल्लेख गरे । उनले खास गरि युवा तथा बालबालिकालाई नेपाली भाषा, संस्कृतिसंग परिचित गराउन समाजले काम गर्दै आएको बताए।
केन्द्रका अध्यक्ष सुमन प्रधानले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समय देखि बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको जनाए । उनले हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत सिकाइने पनि बताए । उनले नेपालबाट कलाकार ल्याउन सहयोग गर्ने थर्ड आई युकेका विकास देवकोटा, रघु दाहाल, साउंड सिस्टममा सघाउने हेम बिस्ट लगाएत च्यारिटी डिनर आयोजना गर्न सघाउने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाली कक्षामा पढिरहेकी छात्रा स्वस्ति योगीले केन्द्रको पहलका कारण आफूले नेपाली सिकेको अनुभव सुनाइन् । उनले सबै अभिभावकहरुलाई आफ्ना छोरा, छोरीलाई नेपाली सिकाउन आग्रह पनि गरिन् ।
उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरु भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेले विभिन्न गीत प्रस्तुत गरी दर्शकलाई मनोरन्जन दिएका थिए । केन्द्रमा अध्ययनरत बालबालिकाले पनि विभिन्न नाचगान देखाए । ससाना बालबालिकाले राष्ट्रिय गान गाएपछि कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा काउन्सीलर लक्ष गुरुङ, काउन्सीलर अम्मर नक्वी, बर्न्टओक आमा समूहका सदस्यहरु लगाएत टाढाटाढाबाट सहभागीहरु आएका थिए।


हेर्नुहोस् भिडियो :
https://www.facebook.com/londonnepalnews/videos/305070087084488?sfns=mo






