काठमाडौं- कांग्रेस सभापति सुशील कोइरालाको निधनसँगै पार्टीको नेतृत्व दुई दशकपछि कोइराला परिवारबाट बाहिर आएको छ । विधानअनुसार उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यवाहक सभापतिको हैसियतमा पार्टीको नेतृत्व तहमा आइपुगेका छन् । तर, फागुन २०–२३ मा हुने पार्टीको १३औं महाधिवेशनले कोइराला परिवारको विरासत कसले लिने भन्ने फैसला गर्नेछ ।
१३औं महाधिवेशनमै कोइराला परिवारबाट नेतृत्वमा स्थापित हुने सम्भावना कम छ । कोइराला परिवारबाट अहिले तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा छन । बीपी पुत्र सशांक, बीपीकै भतिज शेखर (बीपीका भाइ केशवका छोरा) र गिरिजाप्रसादपुत्री सुजाता कोइराला । सुजाता सुशीलको विरासत लिन खोज्दै छिन् । तर, उनको उचाइले यसैपटक नेतृत्वमा पुग्ने सम्भावना कम छ । सशांक र शेखरले नेतृत्वको दाबी गरेका छैनन् । उनीहरू दुवैको चाहना महामन्त्रीमा देखिन्छ । सुजाता नेतृत्व नपाउने अवस्थामा उपसभापति पाउनुपर्ने बताउँदै आएकी छन् ।
‘१३औं महाधिवेशनमा कोइराला परिवारभित्रैबाट पार्टी नेतृत्व लिने सम्भावना छैन,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘अबको नेतृत्व कि त शेरबहादुरले गर्नेछन् कि रामचन्द्र पौडेलले ।’ उनका अनुुसार देउवा र पौडेलबीच कसले नेतृत्व लिने भन्ने मुख्य प्रतिस्पर्धा १३औं महाधिवेशनले फैसला गर्नेछ ।’ कांग्रेस स्थापनाकालमा बीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यवाहक सभापति भएका थिए । त्यसपछि सूवर्णशमशेर जबरा र कृष्णप्रसाद भट्टराईको कार्यकालबाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको छैन । तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला १५ र सुशील कोइराला ५ वर्ष पार्टीको नेतृत्वमा रहे । ०५३ वैशाख २९ गते काठमाडौंमा भएको नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पार्टी नेतृत्वमा आएका थिए । त्यसपछि दसौं र एघारौं महाधिवेशनले पनि कोइरालालाई नेतृत्वमा चुन्यो । पार्टी विभाजनपछि एघारौं महाधिवेशन अलग–अलग भएको थियो । पार्टी एकतापछि भएको १२औं महाधिवेशनले सुशील कोइरालालाई निर्वाचित गर्यो । उनले नेतृत्व दिँदै आएको कांग्रेसको नेतृत्व अब कसले गर्ने भन्ने निर्णय आउन अब एक महिना पनि बाँकी छैन ।
गिरिजाप्रसादले आफ्नै जीवनकालमा सुजातालाई नेतृत्वमा ल्याउन चाहेका थिए । पार्टीभित्रका वरिष्ठहरूलाई पन्छाएर छोरीलाई उपप्रधानमन्त्री पनि बनाए । तर, उनको कदले सम्भव नभएपछि सुशीललाई नेतृत्वमा स्थापित गराउने भूमिका निर्वाह गरे । आफू छँदै कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेर गिरिजाप्रसादले सुशीललाई पार्टी नेतृत्वमा स्थापित गराएका थिए । त्यसैगरी सुशील पनि आफ्नो विरासत कोइराला परिवारमै राख्ने कोसिसमा थिए । १३औं महाधिवेशनमा उनको उम्मेदवारीको चर्चालाई यसैसँग जोडिएको थियो । कोइरालानिकट सदस्यका अनुसार सुशीलले आफ्नो जीवनको उत्तराद्र्धमा बीपीपुत्र संशाकलाई नेतृत्वमा ल्याउने प्रयासका लागि अघि बढिरहेका थिए ।
कार्यवाहक सभापति पौडेलले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । ‘आइलागेको परिस्थितिलाई सम्हाल्दै पार्टीको भविष्यका लागि म कसैलाई काखा र पाखा नगरी पार्टी हाँक्छु,’ कोइरालाको अवसानसँगै संस्थापन पक्षभित्रको अन्योलतर्फ लक्षित गर्दै पौडेलले भने, ‘कसैले चिन्ता लिनुपर्दैन । सबै नेता तथा कार्यकर्ताको सुरक्षा र सम्मान गरेर नै म अघि बढ्छु ।’
कांग्रेस नेता विमलेन्द्र निधिले कोइरालाको विरासत भनेकै राष्ट्र र राष्ट्रियता रहेको बताउँदै आगामी महाधिवेशनबाट निर्वाचित हुने सभापतिले विरासत थाम्ने बताए । ‘१३औं महाधिवेशनमा कोइराला परिवारको विरासत जोगाउन पनि उहाँ (सुशील) लड्ने चर्चा चलाइएको थियो, तर विरासत भनेको परिवार होइन । राष्ट्रियता र लोकतन्त्र हो,’ उनले भने, ‘त्यो जिम्मेवारी हामीले पूरा गर्नेछौं ।’ निधिले दोस्रो संविधानपछि पार्टीलाई पहिलो स्थानमा ल्याउने, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गर्ने कार्य नै उपलब्धिपूर्ण रहेको बताए । ‘उहाँको सपना संविधानको कार्यान्वयन थियो । अब त्यो दायित्व हामी पूरा गर्छौं,’ उनले थपे ।
कोइरालाको निधनपछि संस्थापन पक्षमा पौडेल स्वाभाविक उम्मेदवार देखिएका छन् । तर, औपचारिक निर्णय गर्न भने बाँकी छ । सभापतिकै लागि महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला पनि आंकाक्षी छन् । कोइराला परिवारका सदस्यहरूलाई व्यवस्थापन गरी सिंह, सिटौला, रामशरण महत, अर्जुनरसिंह केसीलाई सँगै लिएर अघि बढ्न पौडेलका लागि चुनौतीपूर्ण छ । -कान्तिपुरबाट






