नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् ।

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताए । “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना,शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताए ।

प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक भएका छन् ।

“तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिनेछ” प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरे ।