काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ ।
बुधबार फेसबुकमा भिडिओ जारी गर्दै सभापति लामिछानेले विभिन्न प्रदेशमा गरिएका भेलामा सहभागीहरूले प्रदेशको अहिलेको संरचना निकै खर्चिलो भएको र भ्रष्टाचारलाई बढाउन सघाउन बताएपछि आफूहरूले प्रदेश सभामा उम्मेदवारी नदिने बताएका छन् ।
उनले भनेका छन्,‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ । यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही होइन । प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं ।’
लामिछाने प्रदेश सभा खारेज गर्दै प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताएका छन् ।






