तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद्ले आयोजना गरेको वृहद अन्तक्रिया कार्यक्रममा एनआरएनए सदस्यहरुमा सहुलियत कार्डको प्रस्तावमा छलफल भयो । गत शनिबार एडेन प्यालेस अलउड सिड्नीमा आयोजना भएको उक्त अन्तक्रिया कार्यक्रम एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु परिषद् संयोजक देव गुरुङको अध्यक्षता रहेको कार्यक्रम तीन चरणमा सम्पन्न भएको थियो ।

एनआरएनए ओसियाना संयोजक होम पाण्डेले समुदायमा परामर्श महत्वपूर्ण भएको बताए । यस्ता कार्यक्रम बेलाबेला भइराख्नुपर्ने र त्यस्ता कार्यक्रमले समुदायलाई अगाडि बढाउन सहयाृेग पुग्ने संयोजक पाण्डेले बताए । यस्तो कार्यक्रममा सबैले आआफ्नो क्षेत्रबाट सहयोग दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमको पहिलो चरणमा न्यू साउथ वेल्स राज्य परिषद् सहसचिव तीर्थराज कार्कीको संयोजकत्वमा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरु सँग छलफल भएको थियो । अन्तरक्रियामा नेपाली समुदायको हितमा कसरी काम गर्न सकिन्छ भनेर व्यापक छलफल भएको थियो । नेपाली समुदायमा जनचेतनाको सूचना कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले छलफल गरेका थिए । संयोजक कार्की ले कार्यक्रम अत्यान्त उत्साहजनक भएको बताये ।
दोस्रो चरणमा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र एनआरएन पदाधिकारीलाई एनएसडब्लु राज्य परिषद् संयोजक देव गुरुङले स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा राजदूत दाहालले भिजिट नेपाल २०–२० विदेशमा रहेका नेपालीका लागि चुनौति र अवसर दुवै भएको बताए । उनले आउँदो वर्ष तीनवटा महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए । भिजिट नेपाल २०–२०, राजधानी क्यानभेरामा आयोजना हुने वृहद सांस्कृतिक कार्यक्रम र नेपाल र अस्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्ष गाँठ सफल पार्न एनआरएनए र नेपाली समुदायको सहयोग महत्वपूर्ण हुने राजदूत दाहालको भनाइ थियो ।
सहयोगका लागि एनआरएन र नेपाली समुदायबाट प्रतिबद्धता आइसकेकाले कार्यक्रम सफल बनाउन आफूलाई उत्साह थपको राजदूत दाहालको भनाइ थियो । लण्डन नेपाल न्युज डट कम कुरा गर्दै राजदूत दाहाल भने कार्यक्रममा उठेका सबै गुनसा हरु राजदूताबासले सम्बन्धित ठाउँमा पुर्याउने छ ।
एनआरएन (एनएसडब्लु) सचिव दिपक पहारीले सञ्चालन गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ एनएसडब्लुका संयोजक गुरुङले नेपाल सरकारले अघि सारेको भिजिट नेपाल २०–२० लाई कसरी भव्य र सभ्य रुपमा सफल बनाउन सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक गुरुङले बताए । भिजिट नेपाल २०–२० कार्यक्रम नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएकाले सहयोग गर्न सबैसँग आह्वान गर्दै संयोजक गुरुङले अन्तरक्रियामा सहभागीले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।
एनआरएनए उपाध्यक्ष मन केसीले भिजिट नेपाल २०–२० का विषयमा केन्द्रले धारणा बनाइसकेको र ती धारणा सबै एनसीसीमा छिट्टै आइपुग्ने बताए । नेपाल सरकारले अघि सारेको कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण एनआरएनए एकजुट भएर लाग्नुपर्ने धारणा उपाध्यक्ष केसीले राखेका थिए । यस्तै एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले नेपाल र अस्ट्रेलियाबीच दौत्य सम्बन्धको ६० औं वर्षगाँठ भव्य रुपमा मनाउनुपर्ने बताए । कार्यक्रममा आईसीसी महिला कोअर्डिनेटर भूमा लिम्बू र जर्नल कन्सुलर दीपक खड्काले पनि बोलेका थिए , भने भुतपुर्ब एनएसडब्लु संयोजक दिनेश पोखरेल, नन्द गुरुङ लगायत अन्य उपस्थित सदस्यहरुले सुझाव दिएका थिए ।

तेस्रो चरणमा एनआरएन एनएसडब्लु सचिव दिपक पहारी संयोजक रहेको कार्यक्रममा व्यवसायीसँग छलफल गर्दै अस्ट्रेलियामा व्यवसाय गरेर ख्याती आर्जन गरेका झन्डै तीन दर्जन व्यवसायीसँग अन्तरक्रिया भएको थियो ।
उक्त छलफलमा एनआरएन सदस्यलाई दिइने इनसेन्टिभ (सुविधा) कार्डबारेमा व्यापक छलफल भएको थियो ।
के हो इनसेन्टिभ कार्ड
अस्ट्रेलियामा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले एनआरएनए सदस्यलाई उपभोग्य वस्तुमा वा सेबा सुबिधा मा छुट दिनेछन। एनआरएनए सदस्यलाई ती व्यवसायीले परल मोलभन्दा केही छुट उपलब्ध गराउने छन् । त्यस्ता सामग्रीमा ग्रोसरीलगायत विभिन्न वस्तुहरु पर्ने बताइएको छ ।
नेपाली बिद्यार्थीहरु लाई कसरी समेटिने
नेपाली विद्यार्थीलाई एनआरएन सदस्यता लिन पनि छुटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई १० डलरमै सदस्यता दिइनेछ भने उनीहरुलाई पनि इनसेन्टिभ कार्ड पनि दिइने छ । उक्त कार्ड प्राप्त गरेपछि विद्यार्थीले पनि ग्रोसरीलगायत दैनिक उपभोग्य वस्तुमा सहुलियत पाउने हुँदा यो कार्ड सबै बर्गका सद्स्यहरुलाई उपयोगी हुनेछ ।
एनआरएनए एनएसडब्लु राज्य परिषद्ले व्यवसायीसँग गरेको अन्तरक्रिया उपलब्धिमूलक भएको सचिव दिपक पहारीले प्रतिक्रिया दिए । यस्तो अन्तक्रिया एनएसडब्लु राज्य परिषद्ले पहिलो पटक आयोजना गरेको जानकारी दिँदै संयोजक गुरुङले भने, इनसेन्टिभ कार्डको थालनी भएपछि सबैले फाइदा लिनसक्ने छन् ।जसले गर्दा बिद्यार्थीहरु र एनआरएन संस्थाको दुरी पनि नजिक हुनेछ। सम्बन्धित व्यवसायीसँग छलफल गरेर निकट भबिस्यमा नै इनसेन्टिभ कार्ड लागु गरिने छ






