लण्डन । ग्रेटर रुश्मोर नेपाली कम्युनिटी (जीआरएनसी)ले १२ अप्रिल आइतबार नेपाली नयाँ वर्ष २०८३ मनाउनका लागि एक कार्यक्रम आयोजना गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ४ बजेदेखि हुने सो कार्यक्रममा नेपाली नयाँ वर्ष धुमधामले मनाइने कम्युनिटी अध्यक्ष लिला सेलिङ माबोले लण्डन नेपाल न्यूज लाई बताइन् ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि आमन्त्रित छन् भने मनोरन्जनात्मक कार्यक्रमहरु राखिएको छ।
कार्यक्रममा मनोरञ्जन प्रदान गर्न अतिथि कलाकारका रूपमा लोकप्रिय गायिका तथा नृत्यांगना रेश्मा तामाङ यूके आउने भएकी छन् ।
कार्यक्रममा विशेष सांगीतिक प्रस्तुति र नेपाली मौलिक सांस्कृतिक झलकहरूका साथै नेपालबाट आएका राष्ट्रिय स्तरका गायक, नृत्यकार र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
कार्यक्रमलाई थप आकर्षक बनाउन ‘राफल ड्र’ (चिट्ठा) को समेत व्यवस्था गरिएको छ। चिट्ठाको पहिलो पुरस्कार आधा तोला (५.८३ ग्राम) सुन राखिएको छ भने दोस्रो पुरस्कार ४०० पाउण्ड नगद, तेस्रो पुरस्कार २०० पाउण्ड नगद र चौथो पुरस्कार बापत १०० पाउण्ड बराबरको ‘फुड भौचर’ प्रदान गरिने छ ।
प्रवेश शुल्क वयस्कलाई २५ पाउण्ड, १२ वर्ष र सोभन्दा मुनिका बालबालिकाहरूलाई १२ पाउण्ड तथा ज्येष्ठ नागरिकहरूलाई २० पाउण्ड तोकिएको छ। उक्त शुल्कमा बफेट भोजनको समेत व्यवस्था गरिएको छ।
कार्यक्रम संयोजक तथा (जीआरएनसी) का वरिष्ठ उपाध्यक्ष उत्तर बहादुर गुरुङले नेपाली नयाँ वर्षको सुभकामना साँझमा सबैको सक्रिय सहभागिताका लागि आह्वान गर्नु भएको छ।






