काठमाडौं– कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।
भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा खडकाको शुक्रबार साँझ सवा ५ बजे निधन भएको थियो । नेपाल एयरलाइन्सबाट शनिबार बिहान १०:४० को फ्लाइटमा काठमाडौं ल्याइएको हो । काठमाडौं उत्रिएपछि उनको शवलाई सीधै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि लगिएको छ ।
फागुन ४ गते सामान्य हृदयाघात भई नर्भिक अस्पताल भर्ना भएका खडकालाई फागुन ६ गते उपचारका लागि अपोलो लगिएको थियो । खड्का मृगौला, छाती र नसासम्बन्धी रोगबाट लामो समयदेखि पीडित थिए । उपचारपछि सुरुमा अवस्था सामान्य रहे पनि बिस्तारै छाती र टाउकोमा समेत संक्रमण बढेको थियो । पछिल्लो एक सातादेखि उनको मृगौलाले समेत काम गर्न छाडेको थियो । खडकाको ३० महिनाअघि अपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो ।






