प्रधानमन्त्रीले साझा प्रकाशनको समस्या सुनेपछि…

kp-sharma-oli
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली समक्ष साझा प्रकाशनका पदाधिकारी र सञ्चालकले संस्थालाई धराशायी हुनबाट बचाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थाको आर्थिक दुरवस्था र सुधारका लागि गरिएका पहल र भावी योजनाबारे अवगत गराउनुभयो ।

साझाका कर्मचारीले छ महिनादेखि काम र तलब नपाएको सुनेपछि प्रधानमन्त्री ओलीले सो विषयमा केही दिनभित्रै सरोकार भएका निकाय र व्यक्तिसहितको बैठक आयोजना गरी समस्या समाधान गरिने वचन दिनुभयो । उहाँले भन्नुभयो – ‘‘साझा प्रकाशन मुलुकको ऐतिहासिक संस्था हो तर मलाई यी सबै विषय थाहा थिएन, तपाईँहरू काम गर्न तयार हो भने म समस्या समाधान गर्छु ।”

भेटमा सञ्चालक समितिका सदस्य तथा पूर्वशिक्षामन्त्री प्रदीप नेपाल, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झा, प्रा कृष्णहरि बराललगायत हुनुहुन्थ्यो ।

विगतका पदाधिकारीबाट भएको अनियमितता, आपसी किचलोका साथै पाठ्यपुस्तक वितरणको काम खोसिएपछि संस्था ओरालो लागेको हो । आठ वर्षदेखि संस्थाको साधारणसभा हुन सकेको छैन । हाल शिक्षा मन्त्रालयको मातहत रहेको सो प्रकाशनले सरकारसँग संस्था बचाउन तत्काल रु २० करोड सरल ऋण माग्दै आएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासमक्ष पनि संस्थाका पदाधिकारीले सोही आग्रह गरेका थिए ।