काठमाडौँ- म्यानमारकी स्टेट काउन्सिलर आङ सान सु कीको कारकेडमा खटिएको प्रहरीको मोटरसाइकल बिहिबार साँझ दुर्घटनाग्रस्त बनेको छ ।
सु कीलाई सोल्टी होटल पुर्याएर फर्किने क्रममा साँझ करिब ७:३० बजे त्रिपुरेश्वरमा प्रहरीको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा १ ज ६५७७ नम्बरको निलो माइक्रोसँग ठोक्किएको थियो ।
महानगरीय ट्राफिक महाशाखा प्रवक्ता एसपी जयराज सापकोटाका अनुसार लेन क्रस गरेर आइरहेको माइक्रोले प्रहरीको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा प्रहरी सहायक निरिक्षक दीपेन्द्र गुरुङ घाइते भएका छन् ।
दुर्घटनापछि गुरुङलाई तत्काल प्रहरी अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई हिजोनै नर्भिक अस्पताल रिफर थियो ।
सापकोटाका अनुसार घाइते गुरुङको अवस्था गम्भिर रहेको छ ।
मनोज श्रेष्ठले सामाजिक सञ्जालमा राखेको भिडियोमा दुर्घटनापछि दुई जना प्रहरीले माइक्रो चालकमाथि हातपात गरेको देख्न सकिन्छ ।
प्रहरीले माइक्रो चालकमाथि हातपात गरेको विषयमा प्रश्न गर्दा प्रवक्ता सापकोटाले यसबारे आफूलाई जानकारी नभएको र भिडियो हेरेपछि यसबारे कारवाही प्रक्रिया अघि बढाउने बताए ।
हाल माइक्रो चालक र माइक्रो प्रहरी नियन्त्रणमा रहेको छ ।






