काठमाडौँ- सूचना तथा सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार मातृका पौडेल नियुक्त हुनुभएको छ ।
यही पुस ९ गतेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई विशिष्ट श्रेणी सरहको सुविधासहित नियुक्तिको निर्णय गरेको थियो । रामेछापको दुराडाँडामा जन्मनुभएका पौडेल नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य र संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ ।
छापा, विद्युतीय र अनलाइनमा डेढ दशकका अनुभव सँगाल्नुभएका उहाँ तत्कालीन खिलराज रेग्मी सरकारका पालामा पनि सो मन्त्रालयको सञ्चार सल्लाहकार हुनुभएको थियो । पछिल्लो समयमा उहाँ ‘अनलाइनखबर डटकम’को नायब सम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।






