सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।
यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।
लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाएकाका परिवारले रु १ लाख पाउने
विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु २५ हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
एक लाख २५ हजार आर्थिक सहयोग
जुगल–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले रु एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
सङ्घको तर्फबाट रु एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट रु २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए ।
स्काभेटर प्रयोग नगरी बेपत्ता खोज्न कठिन
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पहिरो गएको दिन (शुक्रबार)बाटै बेपत्ताको खोजीकार्यलाई तीव्रता दिए पनि हाते औजार प्रयोग गरेर मात्रै बेपत्ताहरू भेटिने सम्भावना कम हुँदै गएको छ ।
बेपत्ताको खोजीका लागि आइतबारबाट स्काभेटर प्रयोग गरिने भएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५-१५ र नेपाली सेनाका २५ जना खोजबिनमा सक्रिय छन् ।
नेपाली सेनाले शनिबार हेलिकोप्टरमार्फत थप ३५ जनालाई पहिरो स्थलमा पठाएको छ । गाउँपालिकासँग समन्वय गरेर स्काभेटर लगेर पहिरो पन्छाएर बेपत्ताको खोजी गरिने प्रहरीले जानकारी दिएको छ ।
आइतबार बिहानसम्म पहिरो स्थलमा स्काभेटर पुग्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।






