मेरो पक्षमा माहौल बन्दैछः पौडेल

ramchandra
काठमाडौं– कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पार्टीको सभापतिका लागि आफ्नो पक्षमा माहौल सिर्जना भएको बताएका छन्। उनले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट चल्न नसक्ने भएकोले सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवालाई कार्यकर्ताले आराम दिने बताए।

‘मैले उहाँहरुलाई अव आराम गर्नुस, पार्टी म हाँक्छु भनेकै छु,’ पौडेलले मंगलबार बिहान गुल्मीमा पत्रकारहरुसित भने, ‘उहाँहरु आराम लिन नखोजे कार्यकर्ता आफैले आराम दिन्छन् ।’ उनले यसपाली आफूले कुनैपनि हालतमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्। ‘कांग्रेसलाई अब प्रखर ढंगले चलाउनुपर्ने छ,’ उनले भने, ‘पार्टीहरुबीच प्रतिस्पर्धा भइरहेको छ कोइराला र देउवाले अव चलाउन सक्नु हुन्न।’

उनले नेपाली कांग्रेसले सरकार बाहिरबाटै भएपनि मधेसको आन्दोलन अन्त्य गर्नको लागि भूमिका निर्बाह गरिरहेकोले अब मधेश आन्दोलन रोकिने समेत बताएका छन् । ‘उहाँहरुको बिरोध त सधै चल्ला जस्तो छ, मधेशमा एक प्रदेश नभए सम्म उहाँहरु बिरोध गरिरहनुहुन्छ,’ उनले भने, ‘तर आन्दोलन निकास निस्किने बाटोमा गइरहेको छ ।’