कुरा काट्ने कि सघाउने ?

  • चेतन अधिकारी

chetanराजनीतिमा दुरदृष्टि र अडान भएन भने निश्चित समयका लागि कुनै नेता लोकप्रिय त होलान् तर तिनले देश र जनताका लागि आफू देशको कुनै महत्वपूर्ण पदमा भएको अनुभूति जनतालाई दिलाउन सक्दैनन् । यस्तै दुरदृष्टि भएका नेताको अभावमा नेपाल लामो समयसम्म गरिवी, अशिक्षा र समान्ती चक्रमा फसिरह्यो । जब कुनै नेताले समकालिन नेताहरुले भन्दा देश विकासका फरक र अग्रगामी योजना अगाडि सार्छन् तब धेरैलाई पत्याउन पनि मुस्किल हुन्छ ।

प्रसङ्ग प्रधानमन्त्रीले घोषणा गरेको एक बर्षमा लोडसेडिङ अन्त्य हुने, काठमाडांैमा विद्युतीय बस चलाउने, पाइपबाट चुल्हामा ग्यास पुर्‍याउने आदि जस्ता घोषणा भएपछि त्यसमा मजाक मान्नेहरुको समूह उल्लेख्य रुपमा जन्मियो । नेपालीहरुको अहिलेको साक्षरता दर ५६ प्रतिशत छ । वर्षेनी यो दर त बढिरहेको छ तर साक्षरता दर उक्सिदै गएपनि चेतनाको स्तर त्यही तहमा उक्सिएको देखिदैन । जसले गर्दा हामीलाई कुनै अग्रगामी योजना र भिजनहरु आए भने तिनलाई मसला बनाएर स्वाद लिने बानी हट्न सकेको छैन । अर्कोतिर सरकारी रोजगारी ताक्ने तर स्वालम्बी हुन नखोज्ने हाम्रो पुरानो आदतमा सुधार नभएका कारण नेपालमा ठूलोसंख्या बेरोजगार नै छ । त्यसमा युवाहरु उल्लेख्य मात्रामा छन् । मानव विकास प्रतिवेदनले अझै पनि एक चौथाइ नेपालीहरु गरिवीको रेखामुनी रहेको देखाएको छ । यसको अर्थ देशमा आय आर्जन गर्ने बाटा कमजोर छन् भन्ने हो ।

लोकतन्त्र आएको १० बर्ष भयो । यसबीचमा ३४ लाख युवा रोजगारीका लागि बाहिरिएको तथ्यांक केही दिन अघि वैदेशिक रोजगार बिभागले सार्वजनिक गर्‍यो । आखिर प्राकृतिक रुपले सम्पन्न देश भएर पनि किन हाम्रोमा रोजगारीका अवसरहरु सृजना भएनन् वा गरिएनन् ? सायद लोकतान्त्रिक आन्दोलनमा झण्डा र डण्डा बोकेर हिंड्ने युवालाई स्वदेशमै रोजगार दिने त्यतिबेलाको नेतृत्वको भिजन भएको भए अहिले दैनिक १ हजार ५ सय युवा खाडी र मलेसियामा जानु पर्दैनथ्यो । अनि युवाहरुको अभावमा गाउँका खेतबारी बाँझै हुने अवस्था पनि आउने थिएन । देश, समाज र समूदायलाई त्यहाँको राजनीतिक व्यवस्थाले नै चलायमान बनाउने हो । राजनीतिक व्यवस्था र त्यसलाई नेतृत्व गर्ने नेतामा भएका दुरदृष्टिबाट गरिएका साना निर्णयले लामो समयसम्म मुलुकलाई फाइदामा लैजान सक्छन् । जनतालाई लावान्भित बनाउन सक्छन् ।

सबैलाई थाहा भएको कुरा के हो भने केपी शर्मा ओली अडान र भिजन दुवै भएका नेता हुन् । यसका थुप्रै दृष्टान्त छन् । ओलीले माओवादी सशस्त्र युद्ध सुरु भएदेखि नै राखेका बिचार हुन् वा लोकतन्त्र आइसकेपछि राजनीतिलाई ट्रयाकमा हिंडाउने चालेका कदम हुन् । सधैं प्रखर, निडर र जस्तै प्रतिकुलतमा पनि निर्णयलाई टेकेर हिंड्ने र आफ्नो निर्णयमा अरुलाई ढिलोचाँडो हिडाउने नेताको नाम केपी ओली हो भन्ने धेरै नेपालीलाई थाहा छ । अर्को कुरा के हो भने प्रतिकुलतामा काम फत्ते गर्ने नेता पनि केपी ओली हुन् । अनुकुलतामा सबैले देश, सरकार र समाज चलाएका हुन्छन् तर नेताको परीक्षा त्यतिबेला हुन्छ जतिबेला प्रतिकुल परिस्थितिमा देश सहजतापूर्वक सञ्चालन गर्नुपर्ने हुन्छ । भारतले गरेको अहिलेको नाकाबन्दी अरु कुनै प्रधानमन्त्रीका पालामा परेको थियो भने त्यतिबेला ति प्रधानमन्त्रीको भूमिका के हुन्थ्यो होला भनेर अहिले अनुमान मात्र गर्न सकिन्छ । तर केपी ओलीले ‘देशको भूगोल सानो ठूलो हुनसक्छ तर स्वाभिमान सानो ठूलो हुनसक्दैन’ भनेर लिएको अडानले नेपालीको शीर उँचो भएको अनुभूति भएको छ ।

संसारका सबै आविस्कारहरु पहिला मनमस्तिकमा भए त्यसपछि तिनले सार्थकता पांउँदै गए । सायद निल आर्मस्ट्रङले चन्द्रमामा जान सक्छु भन्दा त्यतिबेलाको समाजले यस्तै खिसिटिउरी गरेको थियो होला । अर्थात् एडमण्ड हिलारीले सगरमाथा चढ्छु भन्दा समाजलाई निकै महिनासम्म कुरा काट्न फुर्सद भएको थिएन होला । जसरी अहिले प्रधानमन्त्री केपी ओलीले देश उज्यालो बनाउने र जनजीवनलाई सहज ढंगले सञ्चालन गर्ने योजना सुनाउँदा कुरा काट्नेको खाँचो छैन ।

प्रधानमन्त्रीको घोषणालाई सफल बनाउन सरकार, कर्मचारी र सरोकारवालाहरु लागिपरेका छन् । ढिलासुस्तीपूर्ण नेतृत्वको छायाँमा बसेको कर्मचरीतन्त्रलाई पनि द्रुतगतिमा चल्ने नेतृत्वसँग समायोजना हुन केही समय लागेको हुनसक्छ । तर कर्मचारीतन्त्रले प्रधानमन्त्रीको स्पिडलाई आत्मसात गरेर कार्ययोजना कार्यन्वयनमा तदारुकता अपनाउनु पर्ने देखिन्छ । प्रधानमन्त्रीले बराम्बार भन्ने गर्नुभएको छ कि नियम कानुनले काममा ढिलाइ हुने अवस्था आए त्यस्ता कानुन र नियम संशोधन गरेर छिटो बाटोबाट काम गर्न भन्नुभएको छ । कर्मचारीतन्त्र विगतका सबै दोष अहिलेको सरकार र प्रधानमन्त्रीलाई थोपरेर बिगतमा सरकारको नेतृत्व गरेकोहरुले ‘दुधमा नुहाउने’ धृष्टता गर्नु सुहाउने कुरा होइन । केपी ओली प्रधानमन्त्री भएपछि लोडसेडिङको समय एक्कासी बढेको हो ? केपी ओली प्रधानमन्त्री भएपछि नाकाबन्दी र मधेस आन्दोलन सुरु भएको हो ? भूकम्प गएको साढे ६ महिनासम्म सरकारको नेतृत्वमा को थियो ? त्यतिबेलासम्म पुनर्निर्माण कानुन किन नबनाएको ? यी यावत समस्याको भारी बोकाएर सत्ता हस्तान्तरण गराएकाहरुलाई पनि प्रधानमन्त्रीका दुरगामी योजना सुन्दा आफ्नो राजनीति जोखिममा परेको अनुभूति भएको हुनसक्छ । लोकतन्त्र आइसकेपछि भएका प्रधनमन्त्रीहरुले पनि लोडसेडिङ अन्त्य गर्ने योजना ल्याएको भए सायद अहिले लोडसेडिङको विषय बन्द भइसकेको हुने थियो । तर लोकतन्त्र पछाडिका बर्षहरुमा विद्युतको खपत बढ्दै गयो उत्पादन यथावत रह्यो । ‘झोला खोलामा बोकेर उज्यालोको सपना देखाउने’ हरुको चंगुलबाट सरकार बाहिरिन सकेन । त्यसको सिकार अहिले जनता भएका छन् । तर, दोषजति के पी ओलीलाई बोकाउन खोजिँदैछ ।

मुस्ताङमा हावाबाट विद्युत उत्पादन हुन्छ भन्ने कुरा हाम्रो अघिल्लो पुस्ताले पनि पुस्तकमा पढ्यो । हामीले पनि पढ्यौं र हाम्रा छोराछोरीले पनि त्यही पढ्दैछन् । ऊ बेला अनुसन्धानले पुष्टि गरेको वायु ऊर्जा उत्पादनमा विगतका सरकारको रुची किन भएन ? अनुसन्धानले पुष्टि गरेको थिएन भनेर सरकारी पाठ्यक्रममा यो कुरा किन राखेर पढाइयो । त्यसकारण प्रधानमन्त्रीले विगतमा भएका अनुसन्धान, पुष्टिलाई मूर्त रुप दिन खोज्नु भएको छ । यसमा देशको भलो चाहनेहरुले साथ दिनुपर्छ ।

प्रधानमन्त्रीको घोषणालाई असफल पार्न चाहनेहरुले नेपाललाई अझै पनि गरिब,पछौटेपनमै राख्न खोज्ने भित्री चाहना लुकेको देखिन्छ । किनकि जब जनता अशिक्षित, गरिव, बेरोजगार हुन्छन् त्यहाँ आश्वासनको राजनीति फस्टाउने सम्भावना अधिक हुन्छ ।

लेखक प्रधानमन्त्रीका वरिष्ठ सञ्चार विज्ञ हुन् ।