दातासँग प्रधानमन्त्रीले सुनाए आफ्ना तीन योजना

पहिलो तीन महिनामा गरिने कामबारे प्रधानमन्त्रीले सविस्तार ब्याख्या गरे

Prime minister KP Sharma Oli speaks on the occassion of 12th Jyapu Diwas organised by Jyapu Cultural Development Fund in Capital on Friday, December 25, 2015. Photo: RSS

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्रका राजदूत र दातृ निकायका प्रतिनिधिहरुलाई बोलाएर आफ्नो योजना सुनाएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा राजदूत र दातृ निकायका प्रतिनिधिका लागि दिवाभोज आयोजना गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक विकासक्रम, आपूर्ति ब्यवस्था र पुनर्निर्माणका विषयमा भइरहेका कामवारे सविस्तार ब्याख्या गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको र यसवीचमा पुनर्निर्माण सम्बन्धी कानुन, पुनर्निर्माण प्राधिकरण बनाएर कर्मचारी र बजेटसमेत छुट्याएको वताउँदै माघ २ गते देखि पहिलो चरणको काम आरम्भ हुन लागेको जानकारी गराए ।

‘पुनर्निर्माणका लागि आवश्यक कानुन बनेको छ, प्राधिकरण बनेको छ र त्यसका लागि आवश्यक बजेट र जनशक्ति पनि खटाइएको छ’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उनका विदेश मामिला सल्लाहकार गोपाल खनालले भने, ‘अहिले भूकम्पबाट भएको क्षतिको वास्तविक लगत लिने र प्रमाणिकरण गर्ने काम सुरु भएको छ, पहिलो तीन महिना युद्धस्तरमा समुदायमै गएर काम हुन्छ ।’

भूकम्पबाट भत्केका संरचना र घर बनाउन स्थानीय तहमा पनि समुदाय परिचालन गर्नु पर्ने र त्यसका लागि स्थानीय निकायको अभावमा केही असजिलो भएको प्रधानमन्त्रीको भनाई थियो । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा विभिन्न चरणमा स्थानीय निकायको निर्वाचन गरिने र मुख्य दलको परामर्शमा पहिले भूकम्प प्रभावित क्षेत्रमा चुनाव गर्ने योजना पनि प्रधानमन्त्री ओलीले अघि सारे ।

जनताका भत्केका घर कसरी बनाउने र त्यसका लागि राज्यले प्राविधिक तथा आर्थिक सहयोग कसरी गर्ने तथा स्थानीय तहमा कसरी जनशक्ति परिचालन गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीले दातृ निकायका प्रतिनिधि सामु बिस्तृत योजना सुनाए ।
प्रधानमन्त्री ओलीले अहिले सुरु गरिने पुनर्निर्माण अल्पकालीन पुनर्निर्माण मात्रै नभएको र नेपालको औद्योगिकरणको आधार भएको जनाउँदै त्यसमा सहयोग गर्ने दातृ निकायलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक विकासक्रम र आपूर्ति ब्यवस्थाको समाधानका विषयमा पनि दातृ निकायका प्रतिनिधिलाई अवगत गराए । उनले संविधानप्रति असन्तुष्ट रहेका सबै पक्षको माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अन्तिम अवस्थामा रहेको र उनीहरुसँगको वर्ता पनि सकारात्मक रहेको वताए ।

प्रधानमन्त्रीले दक्षिणी सीमाको अवरोध अन्त्य गर्ने प्रयास पनि अन्तिम चरणमा पुगेको र इन्धन अभावमा प्रभावित भएका विकास आयोजनालाई छिटै सूचारु गरिने पनि वताए । ‘इन्धन समस्याका कारण विकास परियोजना प्रभावित भएका छन्’ प्रधानमन्त्रीले भने, ‘बोर्डरको समस्या समाधान भएपछि त्यसले पनि गति लिन्छ ।’