संसद् बैठक अघि नै मधेसी मोर्चाका माग सम्बोधन गर्ने प्रमुख दलको समझदारी

3 meetingकाठमाडौँ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागलाई आगामी माघ ५ गतेभित्रै सम्बोधन गर्न प्रमुख तीन दलबीच समझदारी बनेको छ ।

आगामी माघ ५ गते बस्ने संसद् बैठकअघि नै आन्दोलनरत मोर्चाका मागलाई सम्बोधन गर्ने गरी लिखित सम्झौताका लागि तयारी गर्ने सहमति भएको तीन दलबीच भएको बैठकमा सहभागी नेताले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सत्तारूढ दल नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का नेताहरुको बैठक बसेको हो । बैठकपछि प्रतिक्रिया दिँदै एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो, “मधेसी मोर्चासँग भइरहेको वार्तालाई छिट्टै निष्कर्षमा पु¥याउन गृहकार्यलाई तीव्र बनाउने योजनाअनुसार अब बस्ने कार्यदलको बैठकमा मधेसी मोर्चाका मागलाई सकारात्मक ढङ्गमा सम्बोधन गर्ने काम अगाडि बढाउनुपर्छ भन्नेबारे आज समझदारी भएको छ ।”

उपाध्यक्ष श्रेष्ठका अनुसार शुक्रबार बस्ने कार्यदलको बैठक र शनिबार बस्ने शीर्ष दलको बैठकमा मधेसी मोर्चाका मागलाई माघ ५ गते बस्ने संसद्को बैठक अगाडि नै टुङ्गो लाग्ने गरी छलफल गरिनेछ । काँग्रेस नेता महेश आचार्यले संविधान संशोधन, सीमाङ्कन, नागरिकता, समावेशीतालगायतका विषयलाई शुक्रबार बस्ने कार्यदल बैठकमा सकारात्मक ढङ्गबाट राख्नेबारे सहमति भएको जानकारी दिनुभयो ।