‘नेपाल फेस्टिबल एडिलेड २०२३’ को तैयारी अन्तिम चरणमा

सिड्नी ।  नेपाल फेस्टिबल ऐडिलेड २०२३ को तैयारी अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) एडिलेड राज्य परिषदको आयोजनामा यही मार्च १८ एडिलेड पार्कमा हुने नेपाली फेस्टिवल एडिलेडको तैयारीका कामहरु तीब्र रुपमा अगाडी बढिरहेका छन् ।

एनआरएनएले हरेक २ वर्षमा आयोजना गर्दै आईरहेको अस्ट्रेलियामा नेपाल बोल्ने सबैभन्दा ठुलो नेपाली महोत्सव हो । अहिले विभिन्न अतिथिहरुलाई निमन्त्रणा गर्ने, कलाकारहरुको अस्ट्रेलिया आउने चाँजोपाँजो मिलाउने देखि अन्य आन्तरिक तैयारीका कामहरु व्यापक रुपमा चलिरहेको र अब झण्डै अन्तिम चरणमा पुगेको एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा ऐडिलेड राज्य सयोंजक रेनुका लामाले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिईन् ।

बिहान १० बजेबाट सुरु हुने फेस्टिवलमा प्रभात फेरी, नेपाल हाउस, परेड, नेपाली समुदायहरुको तर्फबाट नेपाली कला, संस्कृति, परम्परा देखाउने नाँचका साथमा विभिन्न झाँकी र संस्कृति झल्किने प्रस्तुती रहने उनले बताईन् । त्यस्तै नेपाली खानाका स्टलहरु, नेपाल बोल्ने विभिन्न श्रव्य दृष्य सामाग्रीहरुको प्रस्तुती समेत रहने छ ।

फेस्टिबलमा साउथ अष्ट्रेलियाका राज्यप्रमुख (प्रिमियर) पिटर मलिनौस्कस,साउथ अष्ट्रेलियाकी बहुसांस्कृतिक मन्त्री जोय बेट्टिसन, लिवरलकी उप प्रमुख सांसद जिङ ली लगायतका विशिष्ट अतिथि र अन्य नेपाली समुदायका अग्रज एवम् दिग्गज व्यक्तिहरुको उपस्थिति हुने लामाले बताईन् ।

अहिले आर्थिक व्यवस्थापन देखि आवश्यक अन्य तैयारीका कामहरु विभिन्न १४ उपसमिति मार्फत धमाधम चलिरहेको लामाले जानकारी दिईन् । जसमध्ये गणेश पराजुलीको सयोंजनमा नेपाल हाउस व्यवस्थापन समिति, क्षितिज सापकोटाको सयोंजकत्वमा सांस्कृतिक तथा स्थानीय कलाकार व्यवस्थापन समिति,सक्षम श्रेष्ठको सयोंजकत्वमा नेपाल प्रवद्र्धन समिति, कपिल पाण्डे सयोंजक रहेको अतिथि निमन्त्रणा समिति निर्माण गरिएको छ ।

त्यस्तै थिर गुरुङको सयोंजक रहेको स्वयंसेवक समिति, सुरेन रेग्मीको सयोंजकत्वमा परेड व्यवस्थापन समिति, हेम श्रेष्ठको सयोंजकत्वमा कलाकार व्यवस्थापन समिति, अशोक केसीको सयोंजकत्वमा स्टल व्यवस्थापन समिति, नारायण खड्काको सयोंजकत्वमा मिडिया सम्पर्क समिति, रामकृष्ण शर्मा सयोंजक रहेको मार्केटिङ तथा प्रोमोसन समिति, रिजन केसीको सयोंजकत्वमा भिडियोग्राफी मार्केटिङ र प्रोमोसन समिति निर्माण गरिएको छ ।

कार्यक्रममा नेपालकै बहुचर्चित लोकदोहोरी गायक प्रकाश सपूत, गायिका प्रिति आले, टिका प्रसाईँ, निहारिका ज्ञवाली, नेपाल आईडलका विक्रम बराल, स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा ४० स्टल रहनेछन् भने १० हजार दर्शकको उपस्थिति हुने अपेक्षा आयोजकको रहेको छ ।

महोत्सवलाई ‘टरेन्स युनिभरसिटी’ र बुमरेङ इन्टरनेशनल’ ले मुख्य प्रायोजन गरेका छन् । भने साउथ अस्ट्रेलिया सरकार, महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्ड लगायतका नेपाली र अस्ट्रेलियाका सरकारी स्तरका सघंसंस्थाबाट समेत सहयोग र समन्वय रहेको छ ।