नेपाल फेस्टिबल पर्थ नजिकिँदै : आयोजक अन्तिम तैयारीमा जुट्दै

सिड्नी । अस्ट्रेलियामा सिगों नेपाललाई झल्काउने उद्धेश्य बोकेको नेपाल फेस्टिबल पर्थको तैयारी व्यापक रुपमा अगाडी बढेको छ । यही नोभेम्बर २६ तारिखमा फरेस्ट जेजमा आयोजना गरिएको फेस्टिबलको तैयारी तथा प्रचार प्रसारको काम भव्य रुपमा भईरहेको छ ।

नेपालको मौलिक कला, संस्कृति र नेपाली मौलिकपनको प्रवद्र्धन गर्दै अस्ट्रेलियामा चिनाउने उद्धेश्यले गैर आवासीय नेपाली सघं एनआरएनए अन्तर्गतको वस्टर्न राज्य समितिले आयोजना गरेको कार्यक्रमको तैयारी अन्तर्गत अहिले स्टेज निर्माण देखि अन्य अन्तिम चरणका तैयारीका कामहरु हुँदै गरेका एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् वेस्टर्न राज्य समिति सयोंजक दिपक बस्नेतले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको फेस्टिबल सन् २०१४ र २०१८ पछि तेश्रोपटक गर्न लागिएको हो । यसवर्ष फेस्टिबललाई अझै विशेष बनाउन हिउँ खसिरहेको सगरमाथाको झल्को दिने गरी सोहीको चित्रण हुने मानवनिर्मित सगरमाथा, नेपालको धरहरा, गोर्खा हाउस, नेपाल हाउस, परेड लगायतका कार्यक्रम एवम् प्रस्तुती राखिएको बस्नेतले बताए ।

बिहान ११ः०० बजेदेखि ११४५ सम्म झण्डै डेढ किलोमिटर यात्रा सहित सम्पन्न हुने परेडमा विभिन्न झाँकीहरु सहित मुख्य बजार परिक्रममा गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मध्यान्ह १२ः०० बजेबाट केही सागींतिक कार्यक्रम हुने र १ः३० बजेबाट औपचारिक कार्यक्रम सुरु हुने बताईएको छ ।

फेस्टिबलमा स्थानीय एमेली, मन्त्री रिच ह्वीट्बी, डेप्यूटी प्रिमियर रोजर कुक, एनआरएनएका पदाधिकारी, लर्ड मेयर ब्रेजिल जेम्पिलास लगायतका उच्च पदस्थ नेता एवम् प्रतिनिधिहरुको आतिथ्यता रहनेछ भने झण्डै १० हजार दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ । फेस्टिबल सम्पन्न गर्न झण्डै ९० हजार डलर लाग्ने आयोजकको अनुमान रहेको छ ।

सो अवसरमा नेपालका चर्चित गायक दिपक बज्राचार्य र उनको ब्याण्ड तथा बहुचर्चित हास्य कलाकार सन्दिप क्षेत्रीका साथमा अन्य स्थानीय कलाकार र स्थानीय ब्याण्डहरुले भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । अस्ट्रेलियाका स्थानीय मिडिया, बस र पर्थ सिटीको टावरमा समेत नेपाल फेस्टिबलको सुचना राखिएकाले विदेशी लगायत विभिन्न ठाउँबाट सोधखोज भईरहेको र आफुले कार्यक्रम भव्य बन्ने आफुहरुको अपेक्षा राखेको उनले बताए ।

उनले बसको पछाडी पट्टी प्रचार सामाग्री राख्दा अझै धेरै व्यापक बनेको भन्दै नेपाली समुदायले पनि उत्तिकै साथ दिईरहेको बताए । बस्नेतले सम्पूर्णलाई कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेका छन् ।

कार्यक्रमलाई दर्जनौँ व्यवसायिक सघंसंस्थाहरुले प्रायोजन गरेका छन् । एभरेष्ट ग्लोबल भिसा सर्भिसेसले टाईटल स्पोन्सर गरेको छ भने पावर्ड बाईको रुपमा ईन्स्टिच्यूट अफ हेल्थ एण्ड नर्सिङ अस्ट्रेलियाले सहयोग गरेको छ ।

गोल्ड स्पोन्सरका रुपमा किङस्टन इन्टरनेश्नल कलेज, एभरेस्ट फाइनान्स, एनआरटी अष्ट्रेलिया, अल्टस्सच्युड केयर, इनोभेटिभ एशोसिएशन, एक्सपर्ट एजुकेशन भिसा सर्भिस र प्लाटिनम स्पोन्सरका रुपमा ग्रेस इन्टरनेश्नल, ड्रिमल्याण्ड माईग्रेसन सर्भिस, स्ट्ण्ड्ली कलेज, बलप्रितसिंह लोनमार्केट र हिमालयन नेपलिज रेस्टुरेन्टले साथ दिएका छन् ।