चितवन । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् ।
लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।
उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् ।
सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो ।
लामिछानेलाई निकटतम् प्रतिस्पर्धी पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन् । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताएका छन् ।
को हुन रवि लामिछाने ?
रवि लामिछाने पूर्व पत्रकार हुन् । उनले नेपाली पत्रकारिता जगतमा एउटा ऐतिहासिक चर्चा कमाउन सफल भएका थिए । रवि लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि उनी नेपालका एक टेलिभिजन प्रस्तोता थिए ।
सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । सोही टेलिभिजनमा उनले चलाउने कार्यक्रम सिधा कुरा जनतासगं सर्वाधिक चर्चामा रहेको थियो । पछि उनले आफ्नै ग्यालेक्सी ४ के टेलिभिजन स्थापना गरेर सोही टेलिभिजनबाट उक्त कार्यक्रम प्रशारण गर्न थाले ।
सोही दौरानमा उक्त टेलिभिजनको प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले २०७९ सालमा ग्यालेक्सी ४ के टिभीको प्रबन्ध निर्देशकको पदबाट राजीनामा दिई राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरेका हुन् । उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत हुन् ।






