गोर्खाल्याण्ड आन्दोलनमा तीन जनाको मृत्यु

काठमाडौं– गोर्खाल्याण्ड आन्दोलनमा तीन जनाको मृत्यु भएको छ ।

दार्जिलिङमा चर्किएको आन्दोलनका क्रममा शनिवार सेनाले चलाएको गोली लागेर तीन जना गोर्खाल्याण्ड समर्थकको मृत्यु भएको हो । गोर्खा जनमुक्ति मोर्चाको पातलेवासस्थित कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका मोर्चा समर्थक र सुरक्षाकर्मीवीच विहानैदेखि सिंगमारी क्षेत्रमा झडप भएको थियो ।

करिव डेढ घण्टा भएको झडपमा आक्रोसित प्रदर्शनकारीले ढुंगामुडा गरेपछि सुरक्षाकर्मीले पहिला अश्रु ग्यास र पछि अन्धाधुन्द गोली वर्साएको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले बताए । उनका अनुसार सेनाको गोलीवाट दार्जिलिङको गोक वस्तीका विमल शाहसंकर र कैजलेका सुनिल राईको घटनास्थलमै र रेलिङ वस्तीका महेश गुरुङको उपचारका लागि सिलिगुडी लैजाने क्रममा मृत्यु भएको हो ।

घटनामा १२ जनाभन्दा वढी घाइते छन् । उनीहरुको दार्जिलिङ, सिलिगुडीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।