नेपाल फेस्टिवल सिड्नी २०२२ हुँदै भब्य तयारी सुरु

सिड्नी । सिड्नीमा सिगों नेपालको प्रतिनिधित्व गर्ने सिड्नी नेपाल फेस्टिवल सिड्नी २०२२ आगामी नोभेम्बर १९ शनिवारका दिन सिड्नी स्थित बरुड पार्कमा हुने भएको छ । नेपाली विविधता र नेपाली मौलिक पन बोकेको नेपाली मेला प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको छ ।

गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलियाको आयोजनामा हरेक २ वर्षमा आयोजना गर्ने कार्यक्रम सिड्नीबाट सुरु हुँदै अन्य राज्यमा पनि हुँदै आएको छ । सन् २००६ मा सिड्नीबाट सुरु भएको यो कार्यक्रम हाल अन्य राज्यहरुमा पनि २/२ वर्षमै आयोजना हुँदै आएको छ । अघिल्ला वर्षमा डार्लिङ हार्वर नजिकै रहेको तोम्बलोङ पार्कमा हुने नेपाल फेस्टिवल यस वर्ष भने सिड्नीको मध्यभागमा पर्ने बरुड पार्कमा गर्न लागिएको छ । सिड्नीको सबैलाई पायक पर्ने ठाउँ र कार्यक्रम गर्न विभिन्न तरिकाबाट सहज हुने तथा लगानी समेत कम लाग्ने भएकाले बरुड पार्कमा गर्न लागिएको हो ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया,क्यानवेरा स्थित नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालयको सयुंक्त सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । पारापाटाको क्वीन्सफोर्ड कलेजमा आईतबार एक पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी सहित औपचारिक घोषणा गरिएको हो ।

नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज, नेपाली मौलिक खानालाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवद्र्धन गर्ने र सिगों नेपाललाई अस्ट्रेलियामा देखाउने उद्धेश्य सहित प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष पनि भव्य रुपमा गर्न लागिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले पत्रकार सम्मेलनलाई  बताए ।

कार्यक्रममा नेपाली मौलिक कला संस्कृति, गीतसंगीत, नृत्य, खानाका परिकार, हस्तकलाका सामान र नेपालीको व्यवसायसम्बन्धी जानकारी सहित अन्य विभिन्न नेपालका मौलिक पहिचानहरुलाई समेटिने छ । फेस्टिवलको मुख्य प्रायोजन क्वीन्सफोर्ड कलेजले गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै कलेजका क्याम्पस प्रमुख सुब्रत साक्यले नेपाली मेलालाई प्रवद्र्धन गर्नु आफुहरुको पनि दायित्व सम्झेर यस वर्ष मुख्य प्रायोजकको रुपमा साथ दिएको बताए ।

नेपाल फेस्टिबलमा अस्टेलियाका प्रधानमन्त्री र अन्य मन्त्रीहरुलाई पनि निमन्त्रणा गरेको जानकारी गराईएको थियो । महोत्सवमा नेपालका चर्चित कलाकारहरुले समेत सहभागीता जनाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । त्यस्तै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न संस्कृति र परम्परालाई समेत महोत्सवमा समेटिने सयोंजक गुरुङले जानकारी दिए । महोत्सवमा हजारौँ दर्शकको उपस्थिति हुने गर्दछ ।

कार्यक्रमलाई सम्पन्न गर्न विभिन्न व्यवसायी सघंसंस्थाहरुबीच सहकार्य गर्ने तैयारी भईरहेको छ । उनीहरुले स्पोन्सरको रुपमा सहयोग गर्नेछन् । नेपाली महोत्सवले नेपालीपनलाई अस्ट्रेलियाका समुदायसगं प्रत्यक्ष साक्षात्कार सहित चिनाउने अवसर भएकाले सम्पूर्णले हातमा हात राखेर साथ दिन गुरुङले सबैसगं आग्रह गरेका छन् ।कार्यक्रम सम्पन्न गर्न अष्ट्रेलियन सरकारले  मल्टी कल्चर ग्रार्न्ड अन्तरगत  १५ हजार चार सय डलर सहयोग समेत गरेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष भावना श्रेष्ठले जानकारी गराईन् ।

विभिन्न तयारी समिति गठन

कार्यक्रमको तैयारी एवम् व्यवस्थापनका लागि उपाध्यक्ष गुरुङको सयोंजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । त्यस्तै कार्य विभाजन सहित विभिन्न उपसमिति र तैयारी समिति गठन गरेर कार्यक्रम तैयारीका लागि लागि सकिएको उनले बताए ।

गठित उपसिमितिमा एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्स राज्य परिषद उपसयोंजक सुकृति भट्ट, न्यू साउथ वेल्स राज्य परिषद सचिव विनोद कुँवर, कोषाध्यक्ष भावना श्रेष्ठ को सयोंजकत्वमा व्यवस्थापन, ओसेनिया महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतिक समिति, परेड व्यवस्थापनमा एनआरएनए अस्ट्रेलिया सचिव सन्ध्या शाह सयोंजक रहेको उपसमिति बनेको छ ।

त्यस्तै स्पोन्सर व्यवस्थापनमा अनिल पोखरेल, सत्य प्रकाश कडेंल, भुवन पाण्डे,बिनोद कुँवर, स्टल व्यवस्थापनमा अनिल पोखरेल, नेपाल हाउसमा सुकृति भट्ट र मञ्च व्यवस्थापन टिएन अर्याल लगायत रहेका छन् ।

पत्रकार सम्मेलन पछि नेपाली समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न विधामा नेतृत्व गरेका सामाजिक अगुवाहरुकाबीच कम्युनिटी कन्सल्टिङ शीर्षकमा वृहतर छलफल समेत गरिएको थियो । समुदायका अगुवाहरुले आफ्ना अनुभव र विचारहरु प्रस्तुत गरेका थिए । एनआरएनएका संस्थापक अध्यक्ष एवम् २००६ को नेपाली मेलाका सयोंजक मना केसी, समाजसेवी होम पाण्डे ,दिनेशराज जोशी लगायतले बोलेका थिए ।

कार्यक्रम  एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले कम्युनिटीलाई सम्बोधन गरेका थिए । उक्त अवसरमा आवश्यकता अनुसार उपसमिति र कार्यसमिति थपिने र प्रायोजकहरुलाई प्रायोजन गरे बापत विभिन्न सम्मानजनक कार्यक्रमहरु ल्याउने कार्यक्रम सयोंजक देव गुरुङले बताए । सबैको साथ र सहयोगको अपेक्षा रहेको भन्दै उनले सबैसगं सहकार्य गरेर जाने बताए । कार्यक्रममा सहभागी अगुवाहरुले आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त अवसरमा गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष राजेन्द्र थापा, रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका उपाध्यक्ष दिवाकर काफ्ले, गोरखा समाजका अस्ट्रेलिया अध्यक्ष प्रकाश बर्तौला,एन्टा अध्यक्ष सवंश शाह,जनसम्पर्क समिति अस्ट्रेलिया अध्यक्ष सुरेश गुरुङ लगायतले सम्बोधन गरेका थिए ।