एनआरएन यूकेको काउन्सिल बैठकबाट जारी भयो ११ बुंदे घोषणापत्र

शिब भण्डारी । एभरेष्ट गौतम
लण्डन । गैर आवासीय नेपाली संघ बेलायतले संघ संस्था प्रतिनिधिसभा बैठक (काउन्सिल बैठक) गरेको छ । शनिबार बेलायतको अल्डरसट स्थित नेपाली संघसंस्थाबीच आयोजित एनआरएन यूकेको काउन्सिल बैठक ११ बुंदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी र आइसिसी उपाध्यक्ष कुमार पन्त विशेष अतिथीका रुपमा सहभागी बैठकमा बेलायतका दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए ।
कार्यक्रमको पहिलो चरणमा उद्घाटन सत्र सम्पन्न भएको थियो । त्यसक्रममा प्रमुख अतिथी राजदूत डा दुर्गाबहादुर सुवेदी, विशेष अतिथी एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, एनआरएन यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, सल्लाहकार चन्द्र गुरुङ , संगीता मरहट्टा सहित विभिन्न एनआरएन अगुवा र संघसंस्थाका प्रतिनिधीले सम्बोधन गरेका थिए ।
दोस्रो चरणमा विभिन्न संघसंस्थाका प्रतिनिधीले विषयगत समुहहरुमा बांडिएर छलफल गरी सुझाव पेश गरेका थिए । कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष तथा काउन्सिल बैठक संयोजक पुनम गुरुंगले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रम सञ्चालन महासचिव आरके त्रिपाठी र उपमहासचिव विनय अधिकारीले गरेका थिए भने बैठकको मोडरेटर रोहित गुरुंग थिए ।
यस्तो छ बैठकले जारी गरेको घोषणापत्र गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८ घोषणापत्र अल्डरसट, बेलायत गैरआवासीय नेपाली सँघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौँ राष्ट्रिय परिषदको बैठक आज मिति सेप्टेम्बर २९, २०१८ शनिबारका दिन अल्डरसट, बेलायतमा बस्यो । बेलायतमा रहेका करिब १०० संघ संस्थाका प्रतिनिधिहरु, समाजका अग्रज व्यक्तित्वहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समितिका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थितिमा भएको सो बैठकमा विभिन्न विषयहरुमा गम्भीर छलफल गरी गहन सुझावहरु प्रस्तुत भयो । यसरी प्राप्त सुझावहरुलाई आधार बनाइ यो काउन्सिल बैठक अल्डरसट घोषणा पत्र २०१८ जारी गर्दछ ।
१. ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलभावना अनुसार एनआरएनए युकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाइ गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । गोरखाहरुको अवस्था फरक भएको हुँदा उनीहरुको नागरिकताको सवाललाई फरक ढंगले सम्बोधन गर्न पनि यो बैठक सरकारसमक्ष माग गर्दछ ।
२. गोरखाको समस्या गोरखाहरुको मात्र नभई राष्ट्रिय महत्वको सवाल भएकाले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्न यो बैठक माग गर्दछ । गोरखाहरुको सवालप्रति ऐक्यवद्धता र गोरखाको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनवद्धता यो बैठक व्यक्त गर्दछ । गोरखाहरुले वंशजका आधार प्राप्त गरेको नेपाली नागरिकता निरन्तर कायम रहनुपर्ने र उनीहरुका सन्ततिहरुले पनि सो अधिकार पाउनुपर्ने माग नेपाल सरकारसमक्ष गर्दछ ।
३. नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न विभिन्न कार्यशाला आयोजना गर्न यो बैठक एनआरएन युकेलाई सुझाव दिन्छ । साथै, नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनए युके ‘एक एनसिसी एक परियोजना’को अवधारणा गैरआवासीय नेपालीहरुसमक्ष प्रस्तुत गर्दछ ।
४. विदेशमा आर्जन गरेका सीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । त्यस्तो कार्यक्रम ल्याउन नेपाल सरकारलाई दबाब दिन र युकेमा रहेका दक्ष जनशक्तिको तथ्यांक संकलन गर्न बैठक एनआरएनए युकेलाई सुझाव दिन्छ ।
५. सन् २०२१ मा बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा प्रयोग गरिने विवरणमा नेपाली समुदायका लागि ‘नेपाली महल’ राखिदिन माग गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय यो बैठक गर्दछ । साथै, बेलायतमा संचालनमा रहेको युनिभर्सल क्रेडिट योजनाका बारेमा नेपाली समुदायलाई जानकारी दिलाउन सचेतनामूलक कार्यक्रम ल्याउन यो बैठक एनआरएनए युकेलाई अनुरोध गर्दछ ।
६. बेलायतमा नेपालीहरुको नेपालीपन झल्कने साझा घरको अपरिहार्यता बैठकमा एकमतले महसुस गरियो । नेपाल हाउस बिज्नेस मोडलमा निर्माण गर्ने विगतको काउन्सिल बैठकको निर्णयलाई निरन्तरता दिँदै नेपाल हाउस परियोजनालाई थप बृहत स्तरमा अगाडि बढाउन यो बैठक एनआरएन युकेलाई आग्रह गर्दछ ।
७. युकेबाट च्यारिटीमार्फत नेपालमा भइरहेको सहयोगलाई अझै सशक्त बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ । युकेमा रहेका व्यक्ति तथा संघ संस्थालाई एनआरएनए युकेमार्फत च्यारिटी कार्यक्रम संचालन गर्न वा त्यसो हुन नसकेमा गरिएको च्यारिटी कार्यको विवरण एनआरएन युकेमा उपलब्ध गराउन यो बैठक युकेमा कार्यरत सबै व्यक्ति तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछ ।
८. युकेमा बसोबासरत नेपाली युवाहरुलाई एनआरएनएप्रति आकर्षण जगाउन, उनीहरुले सिकेका सीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरुको सर्वाङ्गीण विकासका लागि एनआरएनए युकेको युवा विभागलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ ।
९. नेपालमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको हिंसाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ । त्यस्ता घटनाहरुको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न बैठक माग गर्दछ । बेलायतमा बसोबासरत महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम गर्न एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।
१०. एनआरएनए युकेको राज्यव्यवस्था समितिको संयोजक एनआरएनए युकेको पदेन सदस्य हुने, विभागीय प्रमुखहरु उपाध्यक्ष हुने, एनआरएनए युकेका पूर्व अध्यक्षहरु संरक्षक रहने, सल्लाहकार छनौटमा योग्यता एवं संस्थागत अभियन्तालाई मापदण्ड बनाउने, क्षेत्रीय रुपमा गठन भएका समितिहरु एनआरएनए युके केन्द्रको नियम बमोजिम संचालन हुने गरी विधान संशोधन गर्न यो बैठक एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।
११. गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौँ काउन्सिल बैठकमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुभएकोमा बेलायतका लागि नेपालका राजदुत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकारहरु, एनआरएनए युकेका प्रमुख संरक्षक डमर घले र संरक्षकहरु, एनआरएनए युकेका सल्लाहकारहरु, सबै संघ संस्थाका प्रतिनिधिहरु, स्पोन्सरहरु लगायत यो काउन्सिल बैठक सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सबैलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
घोषणापत्र तयारी समिति सँयोजक, नरेश खपाङ्गीमगर सदस्य रमेश सराङकोटी सदस्य नवीन पोखरेल सदस्य पूर्ण गुरुङ सदस्य ध्रुवराज अर्याल ।