नागरिकता विधेयक अन्यौलमा

काठमाण्डौ । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको नागरिकता विधेयक अन्यौलमा परेको छ ।

दोस्रो पटक शितल निवासमा पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने आज अन्तिम दिन भएपनि अहिले सम्म प्रमाणीकरण भएको छैन । राष्ट्रपति भण्डारीले बिशेष गरि अंगिकृत नागरिकता र स्वघोषणाको बारेमा असहमति राख्दै संसोधन गर्न आग्रह सहित संसदमा पठाएकी थिईन् ।

तर संसदले दोस्रो पटक पनि जस्ताको त्यस्तै पारित गरेर प्रमाणीकरणकहाँ पठाइदिएको हो । विधेयक फर्किएर आएपछि राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजिवीहरूलाई बोलाएर छलफल समेत गरेकी थिईन् ।

हिजो प्रधानमन्त्री देउवासँग पनि यसबारेमा छलफल भएको थियो । उनले आज राति १२ बजेसम्म प्रमाणीकरणको लागि समय भएको भएपनि प्रमाणीकरण गर्ने, नगर्ने बारेमा अन्यौलता छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे के गर्ने भन्नेमा गठबन्धनका शीर्ष नेताहरूबीच पनि छलफल चलिरहेको छ ।

यसैबीच नागरिकता विहीन सङ्घर्ष समितिले नेपालले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेको छ। समितिले राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पास भएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०७९ लाई राष्ट्रपतिले चाँडै प्रमामीकरण गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो ।