तक्दीर अधिकारी, सिड्नी ।
कोरोना महामारीको कारण प्रभावित नेपाली विद्यार्थीहरु लाइ दुइ चरणमा राहत प्रदान गरेको गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य परिषदले तेस्रो चरणको राहत कार्यक्रम शुरु गर्दै छ । तेस्रो चरणको कार्यक्रममा रोजगारी गुमाएका नयाँ कामको खोज गर्दै सिड्नीमा रहेका नेपालीहरुको निम्ती विभिन्न सीपमुलक तालिमहरु प्रदान गर्न लागिएकोे हो । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य परिषदका संयोजक देव गुरुङ्ले दिएको जानकारी अनुसार मानसिक स्वास्थ्य सचेतना तालिम, कोभिड तालिम, कफी बनाउने बारिष्ठा तालिम, आर एस ए एण्ड ह्वाइट कार्ड, जब अपरचुनेटी तथा वेबिनारहरु सञ्चालन गर्न लागिएको हो ।
१. कोभिड तालिम
शुरुमा आउने शनिवार अर्थात सेप्टेम्बर ५ गते कोभिड तालिम सञ्चालन गरिदैछ । यस तालिममा कोभिड १९ बाट आफु जोगिने र अरुलाइ पनि कसरी जोगाउने भन्ने विषयमा ज्ञान प्रदान गरि प्रमाणपत्र समेत वितरण गरिने भएको छ । उक्त प्रमाणपत्रको आधारमा रोजगारी प्राप्त गर्न पनि सजिलो हुने गुरुङ्ले बताए । उनका अनुसार यो तालिममा सहभागी हुन चाहनेहरुले न्यु साउथ वेल्स स्थित महावाणिज्य दुतावासका अवैतनिक दूत दिपक खड्कालाइ सम्पर्क गर्न सकिने छ । तालिम विहान १० देखी ५ बजेसम्म सञ्चालन हुने गुरुङको भनाइ छ ।
२. मानसिक स्वास्थ्य सचेतना तालिम
महामारीको कारण मानसिक रुपमा पर्न सक्ने प्रभावलाइ कम गर्ने उद्धेश्य सहित मनोपरामर्शात्मक तालिम अर्थात मानसिक स्वास्थ्य सचेतना तालिम सेप्टेम्बर १९ र २६ गते सञ्चालन गरिदैछ । उक्त तालिममा सहभागी हुन चाहनेले संस्थाका सहयोजक चुना क्षेत्रीलाइ सम्पर्क गर्न सकिनेछ । शुरुमा २० जनालाइ निशुल्क रुपमा उक्त तालिम प्रदान गरिने एनआरएनएले जनाएको छ ।
३. कफि बनाउने तालिम
त्यसैगरी कफि बनाउने बारिष्टा तालिममा भाग लिइ नेपालीहरुले लाभ उठाउन सक्ने छन् । लामो समय देखी नेपाली विद्यार्थीहरुको निम्ती काम गर्दै आइरहेको भिएफएम सँगको समन्वयमा कफि बनाउने तालिम प्रदान गर्न लागिएको हो । यो तालिमको मिति तय भइसकेको छैन । निशुल्क रुपमा नै तालिम प्रदान गर्ने तयारीमा एनआरएनए रहेको छ ।
४. आर.एस.ए र ह्वाइट कार्ड
शुरुमा ५ जनालाइ आर.एस.ए र ह्वाइट कार्ड तालिम प्रदान गरिने संयोजक गुरुङले जानकारी दिए । अष्ट्रेलियामा मदिराको कारोबारमा काम गर्नको निम्ती आर.एस.ए प्रमाणपत्र आवश्यक पर्ने गर्दछ । त्यसैगरी निर्माण क्षेत्र अर्थात कन्सक«क्सनमा काम गर्नको निम्ती ह्वाइट कार्ड प्रमाणपत्र आवश्वक पर्छ । एनआरएनएले रोजगारी गुमाएका ५ जनालाइ यी प्रमाणपत्र दिलाएर रोजगारी प्राप्त गर्न सहयोग गर्ने गुरुङको भनाइ छ ।
५. जब अपरचुनेटी
महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनकोे कारण धेरै नेपालीले रोजगारी गुमाएका छन् । ती जागिरविहिन नेपालीहरुलाइ सहयोग गर्ने ध्येयले संस्थाले हाउ क्यान वि हेल्प अर्थात हामी कसरी सहयोग गर्न सक्छौ भन्ने अनलाइन फर्म तयार गरेको छ । उक्त फर्ममा विवरण भरेका नागरिकहरुलाइ रोजगारी खोज्न सहयोग हुने गुरुङ्ले बताए । उनले भने, “खासमा जब अपरचुनेटी फर्म रोगगारदाता र कामदार विचमा समन्वय गरिदिने काम गर्न शुरु गरिएको हो, यसबाट कामदार खोजीरहेका रोजगारदाता र काम खोजीरहेका मानिसबिच सम्पर्क हुन मद्धत पुग्छ । ” उक्त फर्म भर्नको निम्ती यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
६. वेबनार्स
सेप्टेम्बरको तेस्रो हप्तामा अष्ट्रेलियामा रहेका विषयविज्ञहरुद्धारा विभिन्न विषयमा रहेर छलफल हुने भएको छ । विशेष गरी स्वास्थ्य, तथा अन्य आर्थिक सँग सम्बन्धित विषयबस्तुमा गहन छलफल हुने गुरुङ्ले जानकारी दिए । उक्त वेबिनारहरुमा सहभागी हुन चाहनेहरुले एनआरएनए न्यु साउथ वेल्स युवा संयोजक अरुण गौतमलाइ सम्पर्क गर्न सक्नेछन् ।
यस अघि महामारीको कारण समस्यामा परेका हजारौ नेपालीहरुलाइ एनआरएनले आर्थिक तथा खाद्यान्न सहयोग गरिसकेको छ । त्यसैगरी कोरोनाभाइरस संक्रमण भइ आइसोलेसन, क्वारेन्टीनमा रहेकाहरुलाइ पनि विशेष राहत प्याकेज प्रदान गरिएको थियो ।






