सिड्नीमा अहिलेसम्मकै सर्वाधिक गर्मी

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा गयराती हालसम्मकै धेरै गर्मी महसुस भएको छ । सिड्नीमा नोभेम्बर महिनाको रात्रिकालीन न्यूनतम तापक्रम सर्वाधिक मापन गरिएको हो।

अभिलेख राख्न थालिएयता पहिलो पटक अस्ट्रेलियाको उक्त महानगरमा रातिको तापक्रम २५.४ डिग्री सेल्सीअस पुगेको हो। आइतवार दिउँसो त्यहाँको तापक्रम ४० डिग्री सेल्सीअस पुग्ने पूर्वानुमान छ।

गर्मी बढेपछि अग्निशमन निकायले न्यू साउथ वेल्स राज्यका पूर्वी तथा पूर्वोत्तर भागमा आगो बाल्न निषेध गरेको छ।

सप्ताहान्तमा साउथ अस्ट्रेलिया र भिक्टोरिया राज्यसहित देशका अन्य भागमा गर्मी ह्वात्तै बढेको छ।अब्जर्भेटरी हिलमा राति घटेर २५।४ सेल्सीअस पुगेको भए पनि बिहान ४स्३० बजे नै तापक्रम ३० सेल्सीअस पुगिसकेको सिड्नी मोर्निङ हेरल्ड पत्रिकाले जनाएको छ।

यसअघि सन् १९६७ मा अब्जर्भेटरी हिलमा नोभेम्बर महिनाको रात्रिकालीन तापक्रम २४।८ सेल्सीअस मापन गरिएको थियो।

सिड्नीमा प्रचण्ड गर्मी हुन थालेपछि मानिसहरू समुद्री तटमा भेला भएको देखिन्छ।भिडभाड गर्दा कोरोनाभाइरस फैलिन सक्ने भएकाले राज्यको स्वास्थ्य विभागले मानिसहरूलाई भौतिक दूरीसम्बन्धी नियम पालना गर्न सचेत गराएको छ।

अस्ट्रेलियाको मौसम हेर्ने निकायले दक्षिणी न्यू साउथ वेल्स र दक्षिणपूर्वी क्वीन्सल्यान्डका केही भागमा पाँच(छ दिन प्रचण्ड गर्मी भई उष्ण लहर फैलिन सक्ने पूर्वानुमान गरेको छ।

आगोको डर
रुरल फायर सर्भिसले पनि न्यू साउथ वेल्स राज्यका पूर्वी र पूर्वोत्तर क्षेत्रहरूमा आगलागी हुनसक्ने चेतावनी दिएको छ।

अहिले उक्त राज्यका ४५ वटाजति स्थानमा डढेलो लागेको पत्ता लागेको छ। एउटा आगोले भने सिड्नीबाट पश्चिमतिर केही घरहरूमा खतरा हुने देखिएको बीबीसीले जनाएको छ ।