न्यू साउथ वेल्समा शुक्रवारदेखि मास्क लगाउन नपर्ने

सिड्नी । कोरोनाभाइरस महामारीको तेस्रो लहर देखिएसँगै प्रतिबन्धहरु कडाइ गरेको न्यू साउथ वेल्स सरकारले प्रतिबन्धहरु फुकुवा गरेको छ ।

क्रिसमस र नयाँ बर्ष २०२१ स्वागत समारोहमा भिडभाड भएको र समुदायमा कोरोना संक्रमणको अवस्था हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले मानिसहरुलाई भिडभाड हुन र विना मास्क बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो । हाल केही व्यक्तिहरुलाई निगरानीमा राखिएको भएपनि न्यू साउथ वेल्समा समुदायमा कोरोना संक्रमणको सम्भावना कम रहेको निष्कर्ष निकालिएको छ ।

कोरोना नियन्त्रण उन्मुख भएसँगै सरकारले न्यू साउथ वेल्समा मास्क नलगाइ हिडन मिल्ने बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्रिमियर ग्लाडीस बेरेजिक्लियन अब घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम हटाइएको जानकारी दिइन् ।

उनले आफ्नो सुरक्षाकोे निम्ती मास्क लगाउने कुरामा व्यक्ति स्वयंले ध्यान दिन आग्रह गर्दैै सरकारले मास्क लगाउन अनिवार्य बनाएको नियम फुकुवा गरेको बताइन् । उनका अनुसार अब मानिसहरु पिकनिक जान पनि सक्नेछन् । आवश्यकता अनुसार सामाजिक दूरी कायम गरी अन्य भेटघाट र जमघटका कार्यक्रम पनि गर्न अनुमति दिइएको छ । शपिङ्ग सेन्टरमा जाँदा मस्क लगाउन नपरेपनी सार्वजनिक यातायातमा भने लगाउनु पर्ने छ । घरभित्र तीस जना जम्मा हुन पाइनेछ भने पार्क तथा चौरहरुमा पचास जना जम्मा हुन पाइनेछ।

यी सबै नियमहरु शुक्रवार मध्यरातीदेखि लागू हुने प्रिमियर बेरेजिक्लियनले बताइन् । तर उनले कोरोनाभाइरस संक्रमण जतिवेला पनि देखिन सक्ने भएको कारण सबैले सतर्कता अपनाउन आग्रह गर्दै हालसम्म दिएको साथ र सहयोगको लागि सबै जनतालाई धन्यवाद समेत दिएकी छन् । सामाजिक दूरी कायम गर्न र सुरक्षाका मापदण्ड भने पालना गरिराख्न उनको आग्रह छ ।