नेपालमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान, भवितव्य भए सरकार जिम्मेवार नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे टेकु अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्ने भएका छन् ।

कोरोनाविरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने छन् ।

खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उनले बताए ।

‘खोपले कुनै असर पो गर्छ कि भन्ने डर अहिले सामान्य नागरिकसँगै कतिपय स्वास्थ्यकर्मीहरूमा पनि छ, यस्तो बेलामा यो खोप सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ, त्यसैले मैलै पहिलो खोप लगाउने निर्णय गरेको हु, उनले भने, मसँगै हाम्रो अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले पनि खोप लगाउनुहुन्छ, कोरोनाविरुद्ध सुरुवातदेखि अग्रपङ्क्तिमा रहेका मानिसले खोप लगाउँदा अरूलाई पनि खोपप्रतिको डर हराउँछ भन्ने लागेको छ ।’

अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डा. अनुप बाँस्तोला दुवैले पहिलो खोप लिने बताइएको थियो । तर, निर्देशकका रूपमा रहेकाले राजभण्डारीले पहिलो खोप लिने भएका हुन् । दोस्रोमा डा. बाँस्तोलाले खोप लिने सूची तय भएको छ ।

निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

सरकारले पहिलो चरणको खोप अभियानका लागि देशभरका ९५ अस्पतालमा खोप केन्द्र सञ्चालन गर्ने भएको छ ।

कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । नेपाल सरकारले कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो ।

नेपाल सरकारले खोप लगाउँदा कुनै भवितव्य भएमा त्यसको जिम्मेवार आफू नहुने यसअघि नै बताइसकेको छ । त्यसैले खोप लगाउने व्यक्तिले भवितव्य परी केही भएमा स्वयं जिम्मेवार हुने सर्तनामा गर्नुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन ।