तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसन (एन्जा) ले यस बर्ष दीपावलीको अवसरमा अनलाइनमार्फत देउसी भैलो खेल्ने भएको छ ।
एन्जाका महासचिव चिरन्जीवि देवकोटाका अनुसार तिहारको अवसरमा प्रविधिमैत्री हुँदै जुम मार्फत देउसी भैलो खेल्ने भएको हो ।नोभेम्बर ५ तारिख शुक्रबार सिड्नी समय अनुसार साँझ ६ बजेदेखि ८ बजेसम्म खेलिने देउसी भैलोमा हेर्न तथा सहभागि हुन अष्ट्रेलियामा रहेका नेपालीहरुलाई एन्जाले आग्रह गरेको छ ।
नेपाल तथा विदेशमा रहेका नेपालीहरुको मनमुटुमा बस्न सफल लोक कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलसहितको टोली पनि उक्त देउसी भैलोमा सहभागि हुने भएको छ ।
कंडेलले भैलो भट्याउने र उनको टोलीले सांस्कृतिक प्रस्तुती दिने तयारी छ । कोभिड महामारी र व्यस्तताको कारण प्रत्यक्ष रुपमा भैलो खेल्न नसकिने भएको अवस्थामा अनलाइन भैलो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको देवकोटाले बताए ।यसले नेपाली कला र संस्कृतिको सम्वद्र्धनमा पनि सहयोग पुग्ने उनको भनाई छ । यसरी खेलिने भैलो हेर्न तथा सहभागि हुन एन्जाले जुम लिंक उपलब्ध गराएको छ ।
अनलाइनबाटै एन्जाको खातामा दक्षिणा प्रदान गर्न सकिने उनले बताए । अष्ट्रेलियामा रहेका नेपाली कलाकारले समेत प्रस्तुती दिने सो कार्यक्रममा संकलन भएको दक्षिणाले नेपाली पत्रकारहरु विशेषत् कोभिड महामारीबाट प्रभावित भएकाहरुलाई सहयोग गरिने बताइएको छ ।
एन्जाले यसअघि नेपालमा कोभिडबाट प्रभावित भएका पत्रकारहरुको निम्ती ५ लाख रकम सहयोग गरेको थियो । यसरी भैलोबाट संकलन भएको रकम पनि एक कोष बनाएर खर्च गरिने एन्जाले जनाएको छ ।भैलो कार्यक्रमको सबै तयारी पूरा भएको भन्दै महासचिव देवकोटाले सबैलाई यस कार्यमा साथ सहयोग गर्न समेत अपिल गरेका छन् ।
भैलोमा सहभागि हुन निम्न जुम आइडी प्रयोग गर्न सकिने भएको छ । भैलो एन्जाको पेजबाट लाइभ हुनेछ भने अन्य मिडियाहरुले पनि प्रशारण गर्नेछन् ।
ZOOM Id: 818 7097 0389
Passcode: 524370






