बेलायतले दियो कोभिडविरुद्ध खाने चक्कीलाई अनुमति

लण्डन । बेलायत सरकारले लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई अनुमति दिएको छ ।

हाल विभिन्न खोपहरु लगाउने क्रमलाई आक्रमक रुपमा अघि बढाएको बेलायतको औषधि नियामक निकायले ट्याब्लेटलाई पनि अनुमोदन गरेको हो।

मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ।

शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त चक्कीले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ।

यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती महत्त्वपूर्ण हुने घोषणा गरे ।

बीबीसीले बताए अनुसार उनले भनेका छन्, ‘हाम्रो देशका लागि आज ऐतिहासिक दिन हो। कोभिड बिरामीको उपचारका लागि घरमै लैजान सकिने एन्टिभाइरललाई अनुमोदन गर्ने यूके विश्वकै पहिलो मुलुक बनेको छ ।’

मोल्न्यूपिरभीर अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले बनाएको कोभिड विरुद्धको पहिलो ओखती हो जसलाई सुईको रूपमा लिनुभन्दा खान सकिनेछ।

कोभिडका हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने एउटा पनि कारक भएका जस्तो कि मोटोपन, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा मोल्न्यूपिरभीरको प्रयोगका लागि अनुमति दिइएको यूकेको औषधि नियामक एमएचआरएले जनाएको छ।

यूकेले शुरूमा यो वर्षको अन्त्यसम्ममा ४ लाख ८० हजार वटा मोल्न्यूपिरभीर चक्की पाउने गरी खरिद सम्झौता गरेको छ।

त्यसैगरी हाल अमेरिकी कम्पनी फाइजरले समेत विकास गर्दै गरेको सोही प्रकृतिको २ लाख ५० हजार चक्की पनि खरिद गर्नेछ।