बेलायतमा देउवालाई अमेरिकी राष्ट्रपति बाइडेनले भने- ‘नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं’

US President Joe Biden talks at a COP26 reception at the Kelvingrove Art Gallery Glasgow. Photograph: Karwai Tang/ UK Government

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

‘बाइडेनसँग पनि रिसेप्सनमा भेट हुँदा टोपी लगाएर गएको थिए चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल राम्रो देश,  सबभन्दा खुब मन पर्छ भने । नेपालको सम्बन्धमा कुरा गर्दा उनले सबै थाहा पाएका रहेछन् । पूरा सहयोग हुने भन्नु भयो,’ उनले भने ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षा मन्त्रीको गोर्खाप्रति राम्रो सद्भाव पाएको बताए । ‘गोर्खा सैनिकसँगै काम गरेका रहेछन् । नेपाली राजदूत आएपछि समस्या समाधान अगाडि बढाउँछौं भने,’ उनले भने ।