तक्दीर अधिकारी
सिड्नी । कोरोना भाइरसको प्रभाव यतिबेला कुनै एउटा देशमा सीमित छैन, यसको प्रभावले संसार हायलकायल बनेको छ । यो प्रभावबाट नराम्रोसँग अस्ट्रेलिया पनि परेको छ । त्यहाँ रहेका नेपाली विद्यार्थीको अवस्था अझ नाजुक बन्दै गएको छ । प्रभावमा परेका नेपाली विद्यार्थीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) राहत दिने प्रयास गरेको छ ।
एनआरएनए अष्ट्रेलियाले नेपाली विद्यार्थीका लागि राहत प्याकेज घोषणा गरेको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै एनआरएनए अष्ट्रेलियाले भर्खरै अष्ट्रेलिया आएका नेपाली विद्यार्थीका लागि ३० दिनसम्म खाद्यान्न उपलब्ध गराउने छ । तर महिना दिनसम्म खाद्यान्न पाउनका लागि संघले केही मापदण्ड अगाडि सारेको छ । हालै अष्ट्रेलिया आएको, जागिर नभएको, सेल्फ आईसोलेसनमा बसेको र आफन्त कोही नभएको मापदण्ड पूरा भएकालाई एनआरएनले महिनादिनसम्म खाद्यन्न उपलब्ध गराउने छ ।
सहयोग लिनका लागि विद्यार्थीले आफू बस्ने राज्यको एनआरएनएसँग सम्पर्क राख्नुपर्ने छ । त्यस्तै एनआरएनएले सेल्फ आईसोलेशनमा बस्नुपर्ने अन्य नेपालीलाई पनि १५ दिनसम्म खाद्यान्न उपलब्ध गराउने जनाएको छ । यस्तो सहयोग पाउन कमजोर आर्थिक अवस्था भएको हुनुपर्नेछ ।
यो सहयोग मार्च २३ तारिख सोमबारबाट मात्र उपलब्ध हुने विज्ञप्तिमा एनआरएनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘राहत सामाग्री कति र कस्तो हुने भन्नेबारे सम्बन्धित राज्य संयोजकले निर्धारण गर्ने छन् ।
कोरोनाका प्रकोप बढ्दै गएकाले एनआरएनए अष्ट्रेलियाले यसअघि नै कम्युनिटी टाक्स फोर्स गठन गरिसकेको छ । टाक्स फोर्स राष्ट्रिय संयोजकको जिम्मा कोमलराज पाठकलाई दिइएको छ । त्यस्तै हेल्प लाइनको संयोजन प्रवक्ता नन्द गुरुङले गरिरहेका छन् । एनआरएनए अष्ट्रेलियाले अष्ट्रेलियन समुदायलाई आवश्यक परेको खण्डमा स्वयंसेवक समेत उपलब्ध गराउने जनाएको छ ।
यो संकटमा एकजुट भएर अघि बढ्नका लागि आवश्यक तयारी गर्न आइतबार साँझ ४ बजे नेपाली दुतावास, सामाजिक संघसंस्था, सामाजिक अगुवा र व्यापारीसँग भिडियो कन्फ्रेन्सको आयोजना गरिएको छ ।






