राजदूत दाहालले बुझाए भिडियो कन्फरेन्सबाटै ओहोदाको प्रमाणपत्र

सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले ओहोदाको भिडियो कन्फेरेन्समार्फत प्रमाणपत्र बुझाएका छन् । राजदूत दाहालले दूतावासका कर्मचारीको उपस्थितिमा भिडियो कन्फेरेन्समार्फत् न्यूजिल्याण्डका लागि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपाल सरकारले न्यूजिल्याण्डलाई समेत हेर्ने जिम्मेवारी अष्ट्रेलियाको राजदूतावासलाई दिएको छ । दाहाल न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली दूत हुन् । मार्च महिनामा तय भएको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम कोरोना संक्रमणका कारण सर्दै गएपछि हिजो मंगलबार उनले ओहोदाको प्रमाणपत्र न्यूजिल्याण्डकी गभर्नर जनरल पास्टीसमक्ष बुझाएका हुन् ।

राजदुत दाहालले भने, ‘फरक अनुभव भयो, सम्भवतः कूटनीतिक क्षेत्रमा यो पहिलो घटना हो । परिस्थिति र बाध्यतालाई सबैले आत्मसात गर्नुपर्छ ।’ ‘प्रत्यक्ष ओहोदाको प्रमाणपत्र बुझाउन पाएको भए बसेर दुई देशबीचको सम्बन्धबारे थप चर्चा गर्न सकिन्छ’, राजदूत दाहालले भने, ‘कोभिड–१९ को संक्रमण अन्त्य भएपछि प्रत्यक्ष भेट गरेर दुई देशबीचको सम्बन्धबारे चर्चा गरिनेछ ।’

न्यूजिल्याण्ड सरकारबाट भिडियो कन्फेरेन्समार्फत बुझाउन सकिने जानकारी आएपछि हिजो मंगलबार यो व्यवस्था गरिएको नेपाली दूतावास अस्ट्रेलियाले जनाएको छ ।

भिडियो कन्फ्रेन्समा राजदूत दाहालले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताको तर्फबाट न्यूजिल्याण्डकी गभर्नर, त्यहाँको सरकार र जनतालाई शुभकामना दिएका थिए ।
तस्बिर : नेपाली राजदूतावास अस्ट्रेलिया