तक्दीर अधिकारी, सिड्नी ।
गैरआवासीय नेपाली संघको आयोजनामा ओसनिया क्षेत्रीय कार्यसमितिको क्षेत्रीय भेला र ज्ञान सम्मेलन यही सेप्टेम्बर १२ र १३ गते अनलाइनमार्फत गरिने भएको छ । कोरोना भाइरस महामारीको कारण भौतिक रुपमै उपस्थित भएर कार्यक्रम आयोजना गर्न सम्भव नभएको कारण दुइ दिनको कार्यक्रम अनलाइन जुम मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको गैरआवासीय नेपाली ओसनिया क्षेत्रीय कार्यसमितिले जनाएको छ ।
एनआरएनए क्षेत्रीय महिला संयोजक जानकी रिजाल पौडेलका अनुसार पहिलो दिन अर्थात सेप्टेम्बर १२ गते एनआरएनए ओसनिया कार्य समितिको साधारण सभा हुनेछ । उक्त साधारण सभामा हालसम्म संस्थाले गरेका आर्थिक सामाजिक गतिविधि, प्रगति विवरण तथा भावी योजनाका विषयमा छलफल हुने कार्यसूची रहेको छ । “विशेष गरी महिला तथा युवाहरुको विभिन्न मुद्धामा छलफल केन्द्रित रहने छ, कोरोना भाइरसले पारेको प्रभाव र यसविचमा संस्थाले गरिरहेका गतिविधिहरुको बारेमा पनि छलफल गरिनेछ।”
एनआरएनए आइसीसी क्षेत्रीय संयोजक होम पाण्डेले उक्त बैठकमा विशेष गरी संस्थाको सदस्यता शुल्क निशुल्क गराउने विषयमा पनि छलफल हुने तथा अनलाइन मतदानको विषय पनि कार्यसूचीमा रहेको जानकारी दिए । दोस्रो दिनको कार्यक्रममा ज्ञान तथा सीपका विषयमा गहन छलफल हुने छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा ब्यापक बहसको कार्यक्रम हुने पाण्डेले जानकारी दिए । यस बर्षको कार्यक्रमको नारा “स्वास्थ्य तथा आर्थिक क्षेत्रमा कोभिड १९ को प्रभाव र समाधानका उपायहरु” राखिएको छ । संयोजक पाण्डेले भने, “कोरोना भाइरसको कारण विश्व सँगै नेपालको अर्थतन्त्रमा पनि नराम्रो सँग प्रभाव परेको छ, महामारीको कारण हजारौँ श्रमिक नेपाली स्वदेश फर्किएका छन्, उनीको व्यवस्थापन र उद्यमशीलताको विकास लाइ ठूलो चुनौती मानेर अब चाल्नुपर्ने कदम र रणनीतिको बारेमा यो कार्यक्रम केन्द्रित हुनेछ।”
यो कार्यक्रम यसअघि जुन महिनामा गर्ने तयारी गरिएको तर महामारीको कारण कार्यक्रम प्रभावित भएकोे कारण अनलाइनबाटै सभा गर्न लागिएको छ। शनिवार जुम मार्फत आयोजना गरिएको पत्रकार सम्मलेनमा आइसीसी संयोजक होम पाण्डेको अध्यक्षता रहेको थियो भने कार्यक्रममा एनआरएनए ओसनिया महिला संयोजक जानकी रिमाल पौडेलले उपस्थितलाइ स्वागत गरेकी थिइन् । एनआरएनए उपाध्यक्ष मन केसीले एनआरएनए एनसीसीको गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । ओसनिया रिजनल उपसंयोजक नविन कंडेलले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए अध्यक्ष केशव कंडेल, कोषाध्यक्ष अनिल पोखरेल, न्यु साउथ वेल्सका महावाणिज्य अवैतनिक दूत दिपक खड्का, साउथ अष्ट्रेलिया अवैतनिक दूत दिपक धमाला, एनआरएनए न्युजिल्याण्डका उपाध्यक्ष लगायत संस्था सम्बद्ध पदाधिकारीहरुको उपस्थिती थियो ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरेको थियो । यसलाई निरन्तरता दिदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्दै छ ।
यसैबिच सो कार्यक्रममा सहभागी हुन चाहनेहरु अनलाइन मार्फत नाम टिपाउनुपर्ने छ । जसको लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ । त्यसैगरी आफ्नो ज्ञान तथा सीपको कार्यपत्र प्रस्तुत गर्न चाहनेहरुको लागि पनि यहाँ क्लिक गरेर आफ्नो विवरण दर्ता गर्न सकिने एनआरएनएले जनाएको छ ।






