अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा ९३ सिटको लागि मतदान जारी, कसले मार्ला बाजी ?

ब्रिजवेन ।
अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा आज ९३ सिटका लागि आम निर्वाचन हुदैछ । जसमा दुइ ठुला मुख्य पार्टी लिवरल र लेबर भिड्दैछन् ।
जसमा लेवरको तर्फबाट वर्तमान प्रिमियर एनास्तासिया पालासे र लिवरलको तर्फबाट डेब फ्रेन्कलिङटन चुनावी मैदानमा छन् । पालासेमने पल्लाभारी भएको खण्डमा उनी तेश्रो कार्यकालका लागि चुनिनेछिन् भने उनकी प्रतिस्पर्धी डेब फ्रेन्कलिङटनले जितेमा लिबरलले सरकार बनाउनेछ । तर बहुमत ल्याएर सरकार गठन गर्नका लागि एउटा पार्टीले कम्तिमा पनि ४७ सिटमा जित्नुपर्नेछ । मतदान आज विहान ८ बजेबाट शुरु भएको छ । पूर्व मतदान भने हिजो नै भएको थियो । अष्ट्रेलियाको चुनावमा १८ वर्ष पुगेकाहरुले मतदान नगरेमा जरिवाना समेत तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
हाल सरकारमा रहेको लेवर पार्टीले कोरोनाभाइरस महामारी नियन्त्रणमा आफुले गरेकोे कामलाई मुख्य चुनावी एजेन्डा बनाएको छ भने लिवरलले हालको राज्य सरकारले आर्थिक विकास गर्न नसकेको आरोप लगाउने गरेको छ । क्विन्सल्याण्डमा पछिल्लो ३० वर्षमा एक पटक बाहेक सबै सरकार लेवरको नेतृत्वमा गठन भएको छ । हाल त्यो उपाधि आफ्ना हातमा पार्ने दाउमा लिवरल लागि परेको देखिन्छ ।
यस अघि गरिएको पूर्व मतदानमा करिब १२ लाख मत खसेको थियो । यसअघि सन् २०१७ मा ९३ मध्ये ४८ सिट जितेर लेबर पार्टीले बहुमतको सरकार गठन गरेको थियो । यस पटक पनि सोही निरन्तरता हुन सक्ने आँकलन गरिएको छ ।