सिड्नी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले आयोजना गरेको तीज महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । अगस्ट २४ तारिख शनिवार सिड्नीको ग्रानभिल स्थित टाउन हलमा आयोजित तीज महोत्सवमा तीजका भाकाहरुमा नाचगान सहित नेपालकै झल्को दिने गरी दिदी बहिनीहरुले उल्लासमय वातावरण तीज महोत्सव मनाएका छन् । बाक्लो उपस्थितिकाबीच टाउनहल तीजमय बनेको थियो ।

कार्यक्रम सोचेभन्दा पनि अझै भव्य बनेको कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेत केसीले जानकारी दिईन् । कार्यक्रममा प्रमुख अतिथि न्यू साउथ वेल्सका नेपाली महावाणिज्यदूत सञ्जिव शर्माले नामजस्तै कर्ममा पनि संस्थाले नेपालको कला, संस्कृती र साहित्यलाई अस्ट्रेलियामा पनि प्रवद्र्धन गर्दै आएको बताए । उनले यस्तै गरी संस्थाले आगामी दिनमा पनि अझै उत्कृष्ट कार्य गर्न सुझाव दिए । त्यस्तै कम्बरल्याण्ड काउन्सिलका मेयर लिस लके र डेप्यूटी मेयर ओला हमेदले अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको उपस्थितिकाबीच संस्थाले नेपालको मौलिकता प्रवद्र्धन गर्न गरेको कार्य प्रशंसनीय रहेको बताए । कार्यक्रममा झण्डै २ सय भन्दा बढीको उपस्थिति रहेको थियो भने भाग्यशाली चिठ्ठाका विजेताहरुलाई पुरस्कृत पनि गरिएको थियो ।







