तक्दीर अधिकारी
सिड्नी । कोरोना भाइरसको संक्रमणले यतिबेला संसारनै त्रसित बनेको छ । संक्रमण रोक्न सबै राष्ट्रले लकडाउन गरिरहेका छन् । नेपालमा पनि गत मंगलबारदेखि लकडाउन गरेर कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास भइरहेको छ ।
लकडाउनपछि जनजीवन असामान्य बन्दै गइरहेको छ । सरकारले आह्वान गरेको यो लकडाउनलाई सबैतिरबाट सहयोग भइरहेको छ । अहिलेको परिस्थितिमा सरकारले सर्वसाधारणमा कुनै कुराको कमी हुन दिइएको छैन । सडक मजदुरलाई विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलले सहयोग वितरण गरिरहेका छन् ।
नाकाहरु सिल गरिएको छ भने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको छ । विदेशी नागरिकको सहजताका लागि सरकारले ध्यान दिइरहेको भए पनि अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई फिर्ता लैजाने बताएको छ । उक्त कुराको जानकारी काठमाडौस्थित अष्ट्रेलियन दूतावासले फेसबुक पेजमार्फत् दिइएको हो । यो विषम परिस्थितिमा आफ्ना नागरिक नेपालबाट फिर्ता लैजाने योजनाअनुरुप अष्ट्रेलिया सरकारले चार्टर फ्लाइट पठाउने योजना अगाडि सारेको छ ।
नेपाल बिभिन्न शहर र पर्यटकीय स्थलमा अड्किएकालाई जति सक्दो छिटो राजधानी काठमाडौ आउन र एम्बेसीमा सम्पर्कमा अनुरोध गरेको छ । थप जानकारीको लागि नेपालस्थित अष्ट्रेलियन राजदुतावासको सम्पर्क नम्बर ‘९७७–१–४३७–१६७८’ मा कल गर्न अर्थात् एम्बेसीको इमेलमाफ्त (austembassy.kathmandu@dfat.gov.au) मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
हालै लुक्लाबाट नेपाल सरकारसँगको समन्वयमा १४ जना अष्ट्रेलियनलाई काठमाडौं ल्याउने अन्तिम तयारी गरिएको छ । बाँकी रहेकालाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।






