तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद् र अस्ट्रेलिया नेपाल पब्लिक लिंक इन्क्लुसिप (एएनपिएल) को संयुक्त आयोजनामा दुई दिने मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । जुलाई ११ र १२ तारिख सेन्टजर्ज अस्पताल हाताभित्र रहेको रिसर्च सेन्टरको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा मानसिक स्वास्थ्यविज्ञ भरत नेपालले प्रशिक्षण दिने छन् ।

मानसिक स्वास्थ्यविज्ञ नेपालले अस्ट्रेलियाका विभिन्न राज्यमा यस्तो किसिमको कार्यक्रम सञ्चालन गरिसकेका छन् । उनले एनआरएनसँग मिलेर नेपाली समुदायमा मानसिक समस्याबारे सचेतना फैलाउँदै आइरहेका छन् । एएनपिएलका सम्योजक निरन्जन गौली कार्यक्रमको सान्धर्भिकता को बारेमा प्रकाश परेका थिए ।
मानसिक स्वास्थ्यमा असर पु-याउने पाँचवटा विषयलाई समेटेर सचेतना सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जुवा खेलको लत, अत्याधिक मदिरा सेवन, निषेधित पदार्थको प्रयोग, सम्बन्धमा विवाद र हिंसा र कामको भार, बेरोजगारी र अर्थअभावले उत्पन्न हुने मानसिक समस्याबारे विज्ञ नेपालले प्रशिक्षण दिने छन् ।

‘मेन्टल हेल्थ फस्ट एड’ नाम दिएको उक्त सचेतना कार्यक्रममा नेपाली समुदायका अगुवा र विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको हो । विशेष गरी कोभिड–१९ पान्डमिकले ल्याउन सक्ने समस्यालाई मध्यनजर गरेर मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद्का उपसंयोजक चुन्ना क्षेत्रीले जानकारी दिए ।
आज शनिबार हुने कार्यक्रममा १६ जना विद्यार्थी र अन्य ४ जना गरी जम्मा २० जना सहभागी रहेको जनाइएको छ । एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङले समाजमा घट्न सक्ने विभिन्न किसिमको मानसिक तनावले निम्त्याउने आत्महत्या तथा अन्य दुर्घटना बाट बचाउन यस्ता कार्यक्रम निकै प्रभावकारी हुने बताए । एनआरएनए एनएसडब्लु सचिव दिपक पहारी, सहसचिव तीर्थ कार्की, सदस्य अन्जु साह तथा एनआरएनए अस्ट्रेलियाकी महिला सचिव सुकृति भट्ट, उपसंयोजक डा. समिता गुरुङलगायतको कार्यक्रममा सहभागिता छ ।
समाजका अगुवा तथा विद्यार्थीलाई यस्ता सचेतना कार्यक्रमले मानसिक दुर्घटनाका बेलामा परमर्श दिन र घट्न सक्ने सम्भाभित दुर्घटना बाट बचाउन मद्दत मिल्ने बताइएको छ ।







