तक्दीर अधिकारी
सिड्नी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संकटबाट मुक्ति पाउन र विश्व शान्तिका लागि प्रार्थना गर्न आ–आफ्नै घरमा बसी ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रममा हुने भएको छ । नेपाल हिन्दू समाज अस्ट्रेलियाका पण्डित प्रकाश ढोडारीका अनुसार विश्व अध्यात्म केन्द्रको आह्वान तथा स्थानीय संस्था र व्यक्तिको संयोजकत्वमा हुने यज्ञ मार्च २५ तारिख बुधबार बिहान ९ देखि १० बजेसम्म र मार्च २६ तारिख बिहीबार बिहान ९ देखि १० बजेसम्म चल्ने छ ।
गत मार्च २० तारिख शुक्रवार साँझ ९ बजे बसेको अनलाईन बैठकले विश्वशान्ति जपयज्ञ गर्ने निर्णय लिएको हो । बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्गहरुलगायत यससम्बन्धी ज्ञाताहरु आ–आफ्नै घरमा बसी पाठ तथा जप गरि दिनु हुनका लागि अनुरोध पनि गरेको छ । यस बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो ।
जसमध्ये न्यूयोर्कबाट पिपलमणि सिग्देल तथा उद्धव शास्त्री, न्युजर्सीबाट डिल्लीराम उपाध्याय तथा श्रीहरि कँडेल, डिसी, मेरील्यान्ड तथा भर्जिनियाबाट राजेन्द्र खनाल, टेक्सासबाट मेघराज निरौला तथा तुलसीराम कँडेल, क्यालिफोर्नियाबाट चूड़ामणि पाठक, टेनेसीबाट उदयराज सिग्देल, नेपालबाट हरिनारायण सापकोटा, क्यानडाबाट जगदीश गैरे, बेलायतबाट जगदीश पौडेल, दुर्गाप्रसाद पोखरेल र शेखर शाण्डिल्य र अस्ट्रेलियाबाट प्रकाश ढोडारी बैठकमा सहभागी थिए ।
सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्र शक्तिको माध्यमबाट विश्वभर एकै समयमा (स्थानीय समय ९ बजे) जपयज्ञ प्रारम्भ हुने छ । प्रातः स्नान, आचमन, ध्यान, योग तथा प्राणायाम आदि नित्यकर्म गरी जपयज्ञमा सहभागी हुन सबैमा आयोजकले अनुरोध गरेको छ ।






