नेपाली बिद्यार्थी र जन्मभुमि प्रति जिम्मेवार बन्दै पोखरा समाज अस्ट्रेलिया

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा कोभिड–१९ प्रभावित विद्यार्थी र नेपालको विपन्न समुदायका लागि पोखरा समाज अष्ट्रेलियाले सहयोग अभियान तीब्र बनाएको छ । पछिल्लो समय अष्ट्रेलियाले कोभिड–१९ को संक्रमण संख्या लगभग नियन्त्रणमा लिन सफल देखिएको छ । यद्यपि अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नेपालमा लकडाउनको मारमा परेका बिपन्न समुदायलाई लक्षित गरी पोखरा समाज अष्ट्रेलियाले समुदायभित्र राहत संकलन र सहयोग अभियानलाई तीब्रता दिएको समाजका कोषाध्यक्ष ईश्वर पहारीले जानकारी दिए ।

प्रवासमा रहदै गर्दा यहाँ अवस्थित नेपाली विद्यार्थीका दुखमा सहभागी हुनु र जन्मभुमि नेपालप्रति समेत समाजको उत्तरदायित्व रहने हुँदा दुबै कार्यलाई मिलाएर सहयोग अभियानलाई निरंतरता दिने समाजका अध्यक्ष राजकुमार अधिकारीले बताए ।

यतिबेला अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीलाई संयमित र सुरक्षित हुन साथै अति आवश्यक खाद्यान्न समस्या भएमा सामाजिक सञ्जालको माध्यम पोखरा समाजको सम्पर्कमा आउनसमेत समाजले बिद्यार्थीलाई अनुरोध गरेको छ ।

एक युगमा एक चोटी आउने यस खाले महामारीमा सबै समुदाय मिलेर यसको सामना गर्नुपर्ने बताउदै समाजका महासचिव समित केसीले प्रवासी नेपाली बिद्यार्थीसँगै जन्मभुमि नेपाल अवस्थित बिपन्न समुदायलाई समेत खाद्यान्न सहयोग गर्ने गरी चलाइएको यो अभियानमा साथ र सहयोगका निम्ति सबैमा अनुरोधसमेत गरेका छन् ।