तक्दीर अधिकारी
सिड्नी । नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउदले आफू नेपाली जनसम्पर्क समितिको नेता चयन गर्न अस्ट्रेलिया नआएको स्पष्ट पारे । नेपाली जनसम्पर्क समति अस्ट्रेलियाले शनिबार आयोजना गरेको बृहद कार्यकर्ता भेला तथा छलफल कार्यक्रममा नेता साउदले उक्त कुरा बताएका हुन् ।
सबैलाई समायोजन गर्न सक्ने अवस्था रहेकाले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियामा सबै अटाउन सक्ने आफूले देखेको उनले बताए । एकजुट नभएसम्म सर्वसम्मत नेतृत्व छनोट हुन नसक्ने भन्दै नेता साउदले भने, ‘म यहाँ आएपछि संगठनलाई मजबुत बनाउने केही उपलब्धी भएका छन्, अनावश्यक विवादमा रुमलिनु हुँदैन । अस्ट्रेलियामा एउटै मात्र जनसम्पर्क समिति छ, त्यसको अध्यक्ष कृष्ण गिरी हुन् । उनले असन्तुष्टलाई पनि समेटेर अगाडि बढ्नु हुन्छ भन्ने मलाई लागेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउदले भने, नेपाली जनसम्पर्क समिति अस्ट्रेलियामा सबै अटाउनु पर्छ । मेलवन र सिड्नीको जनसम्पर्क समितिले विशेष महत्व राख्छ । नेपाली कांगे्रस पार्टी विस्तारै धनीहरुको मात्र हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै नेता साउदले भने ‘नेपाली कांगे्रसलाई सबैको साझा पार्टी बनाउनका लागि सबैको सहयोग चाहिएको छ ।’
नेपाल महिला संघकी महासचिव मञ्जु खाँणले अधिवेशनका बेलामा विवाद हुनु स्वभाविक हो, लोकतान्त्रिक पार्टीमा भएको विवादले कसैलाई हानी गर्दैन भन्दै महासचिव खाँणले भनिन, ‘तपाईंहरुले गरेको अधिवेशनबाट विश्वभरमा रहेका नेपाली जनसम्पर्क समितिमा राम्रो सन्देश जाओस् ।’
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले शंका नगर्न आग्रह गरेर आउँदो अप्रिलसम्म नेपाली जनसम्पर्क समितिको अधिवेशन गराइसक्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सुदीप मुडभरिले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम सम्योजक शितल गिरी र सस्थाको उपादक्ष्य सुरेश गुरुङ दिएका थिए । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोज थापा, महिला संघका केन्द्रीय सदस्य मैया बस्नेतले बोलेका थिए । कार्यक्रममा रोहित खड्का, राजेश केसी, सुमित केसी, सुजितसिंह बाजेन्द्र अधिकारी, सुनिल विष्ठ, अर्जुन केसी, उद्धव विष्ट, उद्धव भट्ट, राजु गिरीलगायतले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए ।
संस्थाका संरक्षक पे्रम सापकोटा, एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, समाजसेवी एवम् नेता डा. डिल्ली बन्जाडे, पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष राजकुमार अधिकारी, झापाली समाजका अध्यक्ष उमेश पोखरेल, पूर्व विद्यार्थी नेता पुरुषोत्तम मिश्र, एडिलेडबाट प्रतिनिधित्व गर्ने युवा नेता दिलिप पोखरेल, डार्बिनबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष मधुकर गुरुङ, हिन्दु काउन्सिल अस्ट्रेलियाका सूर्यप्रसाद गौतम, अर्घखाँची–रुपन्देही सम्पर्क समितिका अध्यक्ष तुलसी भुषाल, सुदूरपश्चिम समाजका कार्यवाहक अध्यक्ष पे्रम महरालगायतको उपस्थिति थियो ।






