प्रधानमन्त्री मोरिसनको अभिव्यक्तिप्रति अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी आक्रोसित

तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पर्यटक र अन्तर्राष्ट्रिय विद्यार्थीप्रति दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ । विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी तथा नेपाली समुदायले प्रधानमन्त्री मोरिसनको अभिव्यक्ति खल्लो मानेका छन् । कोरोना भाइरसले निम्त्याएको संकटबारे जानकारी दिन आज शुक्रबारको नियमित पत्रकार भेटघाटमा प्रधानमन्त्री मोरिसनले विद्यार्थी र पर्यटक भिसामा रहेका मानिसका बारेमा पहिलो पटक अभिव्यक्ति दिए ।

प्रधानमन्त्रीले शुक्रबार अपरान्ह ससद भवनमा रहेको प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफ दिदै भने, ‘यो संकटको घडीमा यदि कोही टुरिष्ट अष्ट्रेलियामा छन् भने उहाँहरु आफ्नो देश फर्कनेतर्फ सोच्नु उचित हुनेछ । सबै राहत तथा उद्दारका उपायहरु अष्ट्रेलिया र अष्ट्रेलियन नागरिकका लागि अपनाइएको हो । एक बर्षको लागि सम्पूर्ण खर्चको व्यवस्था गर्नु विद्यार्थी भिसाको मापदण्डअन्तर्गत पर्दछ । यो अब्यवहारिक छैन ।’

उनले केही दिनभित्रै अध्यागमन मन्त्रीले आफ्ना योजना सार्वजनिक गर्ने संकेत गरे । प्रधानमन्त्री मोरिसनको यस्तो अभिव्यक्ति आएपछि नेपाली समुदायलगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरु झस्केका छन् । लिबरल पार्टीबाट निर्वाचित भएर मारिसन प्रधानमन्त्री बनेका हुन् । लिबरल  पार्टीले न्यू साउथको वेल्स बार्टन क्षेत्रमा नेपालीलाई उम्मेदवारसमेत बनाएको थियो ।  चुनाबको बेलामा नेपालीहरुले सहयोग गरेका थिए ।

यतिबेला कोराना भाइरसकले विश्व नै संकटमा परेको छ । यो संकटको घडीमा अस्ट्रेलिया अछुतो रहन सक्दैन । देशको राष्ट्रिय आम्दानीमा राम्रै योगदान पु¥याएका अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटकका बारेमा वर्तमान मोरिसन सरकार कठोर बन्यो । प्रधानमन्त्री मोरिसनको अभिव्यक्तिबारे के भन्छन् अस्ट्रेलियामा रहेका नेपाली समुदाय ? उनीहरुको भनाइको सम्पादित अंश–

यस्तो अभिव्यक्ति आउँछ भन्ने सोचेकै थिइन्
नगेन्द्रप्रसाद अधिकारी, नेता लिबरल पाटी

प्रधानमन्त्रीबाट यो लेबलको अभिव्यक्ति आउला भन्ने सोचेको थिइनँ । यहाँको शिक्षाको गुणस्तरलाई विश्वास गरेर आएका विद्यार्थीले अस्ट्रेलियाको अर्थतन्त्रमा ठूलो टेवा पु-याएका छन् । उइन उइनको अवस्थामा समाधान खोजिनु पर्ने थियो ।

शिक्षाका लागि अस्ट्रेलिया विगत १२ वर्षदेखि चर्चित गन्तव्यका रुपमा रहेको छ । यसमा मुख्य गरेर तीन कारण देखिन्छन् । पहिलो आर्थिक रुपमा खर्च जुटाउन सजिलो, दोस्रो पढाइ सकिएपछि डिफ्र्ट पिआरको पाथ भएको र तेस्रो सामाजिक सुरक्षा हो । अस्ट्रेलियाको दक्ष्य जनशक्तिमा यसले सहयोग गरिरहेको छ ।

कोभिड–१९ ले अब समय फेरिएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा देखिएको समस्या संसारभरि नै देखिने छ । अस्ट्रेलियामा हालसालै १० लाखभन्दा बढीको जागीर गएको हुँदा सरकार अन्तर्राष्ट्रिय विद्यार्थीलाई २० घन्टाको काम पनि उपलब्ध नहुने देखेर डिस्करेज गरेको देखिन्छ ।

यस परिस्थितिको बाबजुद पनि सरकारले यहाँ पढ्न आइसकेका विद्यार्थीका लागि विश्वविद्यालयको शुल्कमा ४० देखि ५० प्रतिशत सहुलियत गराएर होस या अन्य सहयोग गरेर कम्तीमा उनीहरुको पढाइसक्ने वातावरण बनाइदिनुपर्छ ।

नरम बन्नुपर्ने कठोर बने प्रधानमन्त्री
सूर्य गौतम : लिबरल लिडर
संकट आएका बेला कठोरभन्दा पनि सरकार नरम हुनुपर्छ । शिक्षा क्षेत्रबाट ३२ बिलियन आय भएको देशले विश्वव्यापी रुपमा संकट परेको बेला विद्यार्थीलाई अप्ठ्यारो पर्ने गरी अभिव्यक्ति नदिएको भए राम्रो हुन्थ्यो ।

प्रश्न प्राण रक्षाको हो
समित केसी, महासचिव पोखरा समाज
अहिलेको महामारी भनेको आपतकालीन परिस्थिति हो । यो आपतकालीन अवस्था भएकाले अन्य कुराभन्दा पनि मानवीय हिसाबले हेर्नुपर्छ भन्ने लाग्छ । यहाँ लाग्ने सम्पूर्ण खर्च हामी आफै व्यहोर्न सक्छौं भनेर आएका हौं । भैपरी आउँदा अस्ट्रेलियामा बाँचिन्छ भनेर आएका हौं । जतिबेला आपत्त परेको छ, अब तिमीहरुलाई हामी केही गर्न सक्दैनौं, तिमीहरु आफ्नो देश जाउ भनेपछि यहाँको मानवअधिकारमा पनि प्रश्नचिह्न उठ्यो ।

अस्ट्रेलियाको मानवअधिकार विश्वको सबैभन्दा उत्कृष्ट भनिरहेका बेलामा यो संकटकालमा विद्यार्थीहरु बिना जागीर बसेका छन् । भरे के खाऊ, भोलि के खाउ भन्ने अवस्थामा छन् । घर भाडा तिर्ने सक्ने अवस्थामा छैनन् । प्राण धान्नका लागि पनि यो देशले केही गरेन भने लोकतन्त्र र मानवअधिकारमा अन्याय हुन्छ ।

तत्काल घर भाडा मात्र हेरिदियो भने यहाँका विद्यार्थीले खान आफै व्यवस्था गर्न सक्छन् । त्यो नै सबैभन्दा ठूलो राहत हो । संकट परेका बेला मानव जातिको प्राणको रक्षा गर्ने कि नगर्ने ? अस्ट्रेलिया सरकारसँग मेरो यही प्रश्न छ ।

सरकारले सहयोग गर्ने अवस्था देखिँदैन
श्री नापित, समाजसेवी
अस्ट्रेलियामा पाँच लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी छन् । संसारभरि नै महाविपत्ती आइलागेको छ । यस्तो अवस्थामा अस्ट्रेलियन नागरिकको हेरचाह गर्नुपर्नेछ । उनीहरुको प्राथमिकता पनि यही हो, अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटक होइनन भनेर प्रधानमन्त्रीले स्पष्ट पारे । यदि बस्न सक्दैनौ भने घर फर्किएर जाओ भनेको छ ।

अब कतिसम्म धान्न सकिन्छ, त्यसमा भर पर्छ । सपिङ सेन्टर र हेल्थ केयर सेन्टरमा काम गर्नेहरुले धान्न सक्छन् । अरुतिर काम गर्नेहरु बेरोजगार हुन्छन् । परिस्थिति सामान्य कहिले बन्छ भन्ने कुरो कसैलाई थाहा छैन । कलेज शुल्क र घर भाडा तिर्न नसक्नेले अब सोच्नुपर्ने बेला आएको छ ।

नम्र भाषामा भन्न सकिन्थ्यो
विजय सापकोटा, विद्यार्थी नेता
अन्तर्राष्ट्रिय विद्यार्थीले अस्ट्रेलियाको अर्थतन्त्रमा ३६ बिलियनभन्दा बढी योगदान दिन्छन् । अन्तर्राष्ट्रिय विद्यार्थीले गर्दा साढे दुई लाख रोजगारी सिर्जना भएको छ । यातायात, सञ्चार र ग्रोसरी व्यावसाय पनि अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित छन् । अस्ट्रेलियाका विश्वविद्यालयहरुको २० प्रतिशत लगानी अन्तर्राष्ट्रिय विद्यार्थीहरुको छ ।

त्यत्रो योगदान दिएका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि प्रधानमन्त्रीले यसरी सम्बोधन गर्दा अस्ट्रेलियाको रेपिटेशन र अन्तर्राष्ट्रिय विद्यार्थीको नाममा बिजनेश गर्ने सबैलाई प्रभाव पार्न सक्छ । कन्स्लट्यान्सी, कलेज, विश्वविद्यालयले अस्ट्रेलियालाई नराम्रो प्रभाव पार्छ सक्छ ।

भोलिका दिनमा ती अन्तर्राष्ट्रिय विद्यार्थी यहीकै नागरिक बन्न सक्लान, तर ती नागरिक जिम्मेवार बन्न नसक्ने खतरा त्यत्तिकै रहन्छ । संकटका बेला सबै मिलेर जानुपर्छ भन्ने अभिव्यक्ति आउनुपर्ने बेलामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई खण्डित गर्ने प्रधानमन्त्रीको भनाइ आयो । यदि सर्पोट गर्न सकिँदैन भने पनि नम्र भाषामा भन्न सकिन्थ्यो । फर्केर जा भन्नु एकदमै दुखद हो । चाहेएको बेला प्रयोग गर्ने, नचाहिँदा फर्किएर जाँ भन्ने अभिव्यक्ति एकदमै आपत्तिजनक छ ।

अभिव्यक्ति ठीक उल्टो आयो
परमेज श्रेष्ठ, युवा नेता लिबरल पार्टी
प्रधानमन्त्रीको अभिव्यक्तिले दुखी बनायो । यो अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति म सहमत छैन । अन्तर्राष्ट्रिय विद्यार्थीलाई यसले सम्बोधन गरेको छैन । जे भन्नुपथ्र्यो सरकारले ठीक उल्टो भन्यो । म लगायत हाम्रा नेपाली लिबरल पार्टीका साथीहरुले अन्तर्राष्ट्रिय विद्यार्थीको हितमा धेरै राम्रो गर्ने प्रयास गरिरहेका छौं । तत्काल सुरक्षित र शान्त रहन म अनुरोध गर्दछु ।

(तस्बीर च्यनल ९ लाईभ)