ओएनयुएफद्धारा नेपाली विद्यार्थीहरुलाइ सीपमूलक तालिम प्रदान : १८६ जना लाभान्वित

तक्दीर अधिकारी, साउथ अष्ट्रेलिया ।
ओ.एन. यु. एफ ले साउथ अष्ट्रेलियामा रहेका १८६ नेपाली विद्यार्थीहरुलाइ निशुल्क रुपमा सीपमूलक तालिमहरु प्रदान गरेको छ । विशेष गरी अष्ट्रेलियामा अध्ययनको सिलसिलामा आइ महामारीको कारण रोजगारी गुमाएका नेपाली विद्यार्थीहरुलाइ बिभिन्न चरणमा तालिमहरु प्रदान गरिएको हो । हालसम्म १८६ जना विद्यार्थीहरु यि तालिमहरुबाट लाभान्वित भएको र करिब २० प्रतिशत भन्दा धेरैले रोजगारी प्राप्त गरिसकेको संस्थाका द्धोय अध्यक्ष मध्येका एक अध्यक्ष हेम खनालले बताए । कोरोना भाइरस महामारी नियन्त्रण गर्न अष्ट्रेलियामा लगाइएको लकडाउनको कारण धेरै नेपालीहरुले रोजगारी गुमाएका छन् । जसको प्रत्यक्ष मारमा नेपाली विद्यार्थीहरु परेका छन् । “समस्यामा परेका नेपाली विद्यार्थीहरुलाइ रोेजगारी पाउन सजिलो होस् भन्ने उद्धेश्यले सीपमुलक तालिम दिइएको होे”, खनालले भने, “हालसम्म २० प्रतिशत भन्दा धेरैले रोजगारी समेत पाइसक्नुभयो”। खनालका अनुसार बरिष्ठा कफी मेकिँग, क्लिनीँग, ह्वाइट कार्ड तथा अनलाइनमा आरएसी लगायतका तालिम प्रदान गरिएको छ । तालिम दिने क्रममा बढी समस्यामा परेका विद्यार्थीहरुलाइ प्राथमिकता दिइएको संस्थाले जनाएको छ । यसैबिच संस्थाले ६० जना विद्यार्थीहरुलाइ मानसिक स्वास्थ्य सम्बन्धी तालिम पनि प्रदान गरिएको छ । मेन्टल हेल्थ सम्बन्धमा मोटिभेसनल स्पिकर पवन नेपालले तालिम प्रदान गरेका थिए । जुम मार्फत गरिएको सो तालिममा सहभागी विद्यार्थीहरुले कार्यक्रम प्रभावकारी भएको सुनाए ।

अबको योजना
विद्यार्थीहरुलाइ तालिम प्रदान गरेसँगै अब संस्थाले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । आर्थिक मजवुती सँगै संस्थालाइ जीवन्तता दिने उद्धेश्यका साथ देउसी भैलो प्रतियोगीता सञ्चालन गर्न लागिएको खनालले बताए । उक्त कार्यक्रम सञ्चालन गर्नको निम्ती व्यवस्थापकिय काम गर्ने उद्धेश्य सहित २१ सदस्यीय समिति पनि गठन गरिएको छ । नेपालीहरुको पर्व दीपावलीको अवसरमा संस्थाले केही बर्षदेखी देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्यतिमात्र नभएर नेपालीहरुको संस्कृति तथा पहिचानको रुपमा रहेको नेपाली पोशाक ढाकाटोपी, दौरा सुरवालको जगेर्ना गर्ने उद्धेश्यका साथ हरेक बर्षको जनवरी १ मा टोपी, दौरासुरवाल प्रदर्शन गरी टोपी दिवस पनि मनाइने गरेको उनले बताए ।