विनर सर्कल फुटसल मेनिया २०२० को उपाधि ब्रदरहुड एफसीले जित्यो

तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल मिडियाको आयोजनामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउने उद्धेश्य सहित आयोजित विनर सर्कल फुटसल मेनिया २०२० को उपाधि ब्रदरहुड एफसिले जितेको छ । आइतवार भएको खेलमा ब्रदरहुड एफसीले फेवा एफसीलाइ ५–३को गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा उपाधि जित्ने समुह ब्रदरहुड एफसीले ट्रफी र मेडलसहित २ हजार डलर नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको फेवा एफसीले ५ सय डलर र मेडल प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगीता अवधिभर सबैभन्दा धेरै ११ गोल गर्दै टप गोल स्कोररको उपाधि हासिल गरेका ब्रदरहुडकै अजय तामाङलाइ पनि सम्मान गरिएको छ । 
उक्त प्रतियोगीतामा इग्नाइट रेफरिङका एलेक्सले रेफ्रीको भुमिका निभाएका थिए ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषदका संयोजक देव गुरुङले प्रमुख अतिथिको रुपमा बोल्दैे विनर सर्कलले गरेको कामको खुलेर प्रशंसा गरे । खेलाडी तथा विद्यार्थीहरुको मनोबल बढाउने उद्धेश्यले गरिएको यस कार्यक्रमले आफ्नो उद्धेश्य पुरा गर्न सकेको भन्दै आयोजक सबैलाइ धन्यवाद दिए । संस्थाका प्रशासकिय अधिकृत रोशक खतिवडाले यस कार्यक्रम भब्य रुपमा सम्पन्न भएको भन्दै आगामी दिनमा पनि नेपाली खेलाडी तथा विद्यार्थीहरुलाइ फाइदा हुने अन्य कार्यक्रम थप्दै गइने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका मुख्य प्रायोजक प्रिमो एजुकेशन एन्ड भिसा सर्भिससका निर्देशक दिपक केसीले कार्यक्रमको उद्धेश्य अनुरुप नै प्रतियोगीता सम्पन्न गर्न सफल भएको भन्दै खुशी ब्यक्त गरे । आइतवार ६ बजेदेखी बैंक्सडाउन कम्युनिटि फुटसलमा शुरु भएको उक्त खेल ७ बजे सम्पन्न भएको थियो भने आधा घण्टामा फाइनल गेम भएको थियो । १५ मिनेटको अवधिमा खेलमैदान परिवर्तन गरियो । खेलाडीहरुलाइ महामारीको कारण मानसिक रुपमा पर्न सक्ने असरलाइ कम गर्न सहयोग पुग्ने ध्येयका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकको दावी छ ।

जुलाई १ तारिखदेखि अस्ट्रेलियामा खेलकुद गतिविधि केही खुकुलो भएकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई मानसिक रुपमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसस टाइटल स्पन्सर रहेको प्रतियोगितामा २० टोलीको सहभागिता रहेको थियो ।