काठमाडौं । अफगानिस्तामा आतंकबादी समूह तालिबानले सत्ता कब्जा गरेसँगै महिला तथा पत्रकारहरुमाथि हिंसा गर्ने क्रम बढेको छ ।
पछिल्लो समय महिला तथा पत्रकारहरु कुटिने तथा मारिने क्रम बढेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । यसरी पत्रकारविरुद्ध हिंसा बढेकामा रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानको समाचार च्यानल टोलो न्युजका अनुसार त्यहाँ बिहीबार तालिबानका लडाकुले पत्रकारलाई निर्घात कुटेका छन्।
आरएसएफको अफगानिस्तान डेस्कका प्रमुख रेजा मोइनी भन्छन्, ‘सेप्टेम्बर ७ र ९ सम्म ४६ घण्टाभित्र तालिबानले २४ पत्रकारलाई नियन्त्रणमा लिएका थिए र पछि छाडे।’
तालिबानका सदस्य अनामुल्लाह समानगनीले आगामी दिनमा तालिबानले यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘गत केही दिनमा पत्रकार पीडित भए, जसबाट हामी लज्जित छौं।’
यही सेप्टेम्बर ८ तारिखका दिन निजी पत्रिका ड एतिलात–ए–रोजले आफ्ना ५ जना समाचारदातालाई तालिबानका लडाकुले अफगाननिस्तानको राजधानी काबुलमा महिलाले गरेको विरोध प्रदर्शनको समाचार संकलन गरिरहेका बेला नियन्त्रणमा लिएर निर्घात कुटेको बताएको थियो।






