अस्ट्रेलियाका प्रयोगकर्तालाई फेसबुकको धम्की : ‘समाचार ’सेयर’ गर्न नमिल्ने गराइदिन्छौ’

सिड्नी ।
सामाजिक सञ्जाल फेसबुक र अष्ट्रेलिया सरकार विच द्वन्द्व चर्किएकोे छ । एक महिना अगाडि अस्ट्रेलिया सरकारले फेसबुकलाई आफ्ना समाचारहरु शेयर गरिएको कारण उक्त समाचारहरु वापतका्े भुक्तानीको आदेश दिएपछि फेसबुक र सरकार बिच तनाव देखिएको हो ।
यसविच फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू सेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ। अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन मध्यस्थता गर्न गुगल र फेसबुकलाई आदेश दिएको सँगै त्यसको एक महिना पछि फेसबुकले यस्तो धम्की दिएको हो । सरकारले एक महिनाअघि सार्वजनिक गरेको अनिवार्य आचारसंहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्री प्रयोग गरेबापत गुगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ।
विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरे पनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचारसंहितामार्फत नै गुगल र फेसबुकलाई रकम भुक्तानी व्यवस्था गराउने प्रयास गरेको हो। अहिले फेसबुकले कुनै खाले समाचार नै सेयर गर्न नमिल्ने बनाउन सक्ने अस्ट्रेलियाका प्रयोगकर्तालाई चेतावनी दिएको हो। फेसबुकको यो चेतावनीले अस्ट्रेलियाका प्रयोगकर्तालाई समस्यामा पार्न सक्ने पनि सञ्चारमाध्यमहरूले जनाएका छन्। गत महिना अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिएका थिए।

अस्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले बताउँदै आएका छन्। फेसबुकका प्रवक्ताले भने अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयरमा प्रतिबन्ध गर्ने बारे थप जानकारी र प्रक्रिया चाँडै सार्वजनिक गर्ने बताएका बिबिसीले लेखेको छ। फेसबुक अस्ट्रेलिया तथा न्यूजिल्याण्डका प्रबन्ध निर्देशक विल इस्टनले एक वक्तव्यमा समाचार शेयर गर्न नमिल्ने बनाउनु आफुहरुको अन्तिम विकल्प भएको बताएका छन् । अष्ट्रेलिया सरकारले गरेको यस्तो व्यवस्था विश्वमै पहिलोपटक हुन लागेको हो । फेसबुकको चेतावनी पछि सरकारले यस्तो प्रतिक्रियालाई धम्कीपूर्ण भएको बताउँदै त्योे नीति लागु गरेरै छोड्ने बताएको छ ।

श्रोत :एजेन्सी