काठमाण्डौ ।
काठमाडौं उपत्यकाका निषेधआज्ञा थप गर्ने तयारी भइरहेको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज गृहमन्त्रालयसँगको समुन्वयमा निर्णय गर्दैछन् । हिजो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बीचको बैठकमा गृहमन्त्रालयलाई नै निषेधाज्ञाको जिम्मेवारी सुम्पने बारेमा छलफल भएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरका हुमकला पाण्डेले सुझाव सहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने निर्णय गरेकका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गृहको रायपछि आज थप निर्णय हुने जानकारी दिऐ । तीनवटै प्रशासनले निषेधाज्ञाविरुद्ध सम्भावित जन आक्रोश आफूतिरै सोझिन सक्ने देखेर यसको निर्णय लिने अधिकार गृहलाई नै दिन लागेका हुन् ।
तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालय सहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् । उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने राय दिएको छ । तर स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।






