काठमाडौँ- पोखरामा हुने सार्क विदेशमन्त्री स्तरीय बैठकमा भाग लिनका लागि सोमबार राती काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव एस जयशंकरले मधेसी मोर्चाका नेताहरूसँग भेट गरेका छन् ।
होटेल द्वारिकामा आज बिहान भएको करिब १ घण्टा लामो भेटका क्रममा मोर्चाका नेताहरूले शीर्ष दलले आन्दोलनका राजनीतिक मुद्धा सम्बोधन नगरेको बताउँदै आफूहरूले आफ्ना माग पुरा गर्नका लागि सरकारलाई चैत्र मसान्तसम्मको अल्टिमेटम दिएको जानकारी गराएका छन् ।
मोर्चाका नेताहरूले मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाई नभएको, आन्दोलनका घाइतेहरूको उपचारमा सरकारले कुनै सहयोग नगरेकाले आफूहरूले सरकारलाई एक महिने अल्टिमेटम दिएको जानकारी गराएका थिए । भेटका क्रममा जयशंकरले मधेस आन्दोलन र मोर्चाको पछिल्लो गतिविधीबारे जिज्ञासा राखेपछि मोर्चाका नेताहरूले यस्तो गुनासो पोखेका हुन् ।
भेटमा संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रीकका अध्यक्ष राजकिशोर यादव, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणकलाल कर्ण, तमलोपाका महामन्त्री, सर्वेन्द्रनाथ शुक्लाको उपस्थिति थियो ।
जवाफमा जयशंकरले भारतले नेपालको समस्यामा चाँडै समाधान होस् भन्ने चाहना राख्दै आएको बताउँदै मधेसको चासोबारे आफूले प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा राख्ने आश्वासन दिएका छन् । उनले यस विषयलाई नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराउने बताएका छन् ।
विदेश सचिव जयशंकरले आजै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।






