तक्दीर अधिकारी/अनु लामा
सिड्नी । तामाङ सोसाइटी न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद्को आयोजनामा सोनाम ल्होसार सिड्नीमा भव्य रुपमा मनाइयो । हर्षभिल मरना अडेटेरियम हलमा आयोजना गरिएको कार्यक्रममा तामाङ संस्कृति झल्किने भेषभुषा तथा स्थानीय कलाकार साथै नेपाल बाट आएका अतिथि कलाकार तामाङ फिल्मिजगतका सुपरटार कुमार मोक्तान, चर्चित सेलो गायिका निर्मला घिसिङ र चर्चित गायक तथा सङ्गितकार बिश्व दोङ ले सहभागीलाई मनोरन्जन दिएका थिए। 
कार्यक्रमको प्रमुख अतिथिका रुपमा एनएसडब्लु राज्य परिषद् कन्सुलेट दीपक खड्का थिए भने नेपाली दूतावास क्यानभेराका तृतीय सचिव यादव कोइराला अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै खड्काले आफ्नो परिवार पनि चिनियाँ मूलको भएकाले घरमा नयाँ वर्ष भव्य रुपमा मनाइरहेको बताएका थिए ।
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य परिषद् संयोजक देव गुरुङले अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले यहाँ हरेक जातजातिले यहाँ आफ्नो संस्कृतिलाई जीवन्त राख्न सक्ने बताए ।

निम्फाका अध्यक्ष अरुणकुमार तामाङले सोनाम ल्होसार तामाङ समुदायको मात्र नभएर संसारभरि रहेका सबैको पर्व भएको बताए ।उनले अस्ट्रेलियामा पनि सोनाम ल्होसार मनाउने समुदायको संख्या प्रत्येक वर्ष ठूलो हुँदै गइरहेको भन्दै खुशी व्यक्त गरे । यसले अस्ट्रेलियामा नेपाली समुदायबीच भाइचाराको सम्बन्ध अभिवृद्धि हुने उनले बताए ।
सोसाइटीका अध्यक्ष सुनदोर्जे तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सोसाइटीका सचिव विशाल तामाङले स्वागत मन्तब्य दिएका थिए। स्थानीय कलाकारलाई पुरस्कृति पनि गरिएको थियो भने कलाकारहरु अमृता तामाङ, कन्चन तामाङ, रमिता तामाङ, रश्मी तामाङ, सुनिता वाइवा, रमिला तामाङ, सिर्जना लामा तथा प्रमिला बमजनले प्रस्तुति दिएका थिए ।












