तिहारको मौका पारी मंगलबार होवार्टमा भव्य रुपमा आमा चलचित्र प्रदर्शन

तक्दीर अधिकारी
होवार्ट – तास्मानियामा नेपाली कथानक चलचित्र आमा दोस्रो पटक पनि प्रदर्शन भएको छ । वडादशैँको अवसरमा अक्टोबरमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र दोस्रो पटक तिहारको अवसरमा भाइटीकाको भोेलीपल्ट मंगलबार प्रदर्शन गरिएको हो ।

एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा उक्त चलचित्र प्रदर्शन दुईपटक सम्म प्रदर्शन भएको हो ।कोरोनाभाइरस महामारीको कारण विश्वकै चलचित्र क्षेत्र ठप्प रहेकोे अवस्थामा तास्मानियामा आमा चलचित्र प्रदर्शन गरिएको बताइएके छ । अवस्था जे भएपनि चलचित्र क्षेत्र विस्तारै उठ्ने क्रममा रहेको सन्देश दिने गरी फिल्म प्रदर्शन गरिएको इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताए । मंगलबार स्टेट सिनेमा हलमा साँझ ६ बजे चलचित्र शुरु भएको थियो । हलमा २ सय जनाको सिट रहेको भएपनि भौतिक दूरी कायम गर्दै ५० जनाले मात्र चलचित्र हेर्न पाएको उनले बताए । महामारीको कारण निराश भएका दर्शकलाई यसले सकारात्मक बल प्रदान गरेकोमा उनले विश्वास लिए ।
नेपाली मात्र नभएर अष्ट्रेलियनहरु बीच पनि नेपाली सिनेमा लोकप्रिय हुनुले चलचित्रको कुनै भाषा हुँदैन भन्ने जनाउछ । आज हाउसफुल भएको उक्त चलचित्र फेरी प्रदर्शन गर्न समेत माग आएको भन्दै उनले यस विषयमा पछि जानकारी दिने बताए ।दिपेन्द्र के खनालको निर्देशन रहेको उक्त चलचित्रको निर्माता शर्मिला पाण्डे हुन भने सहनिर्माता सन्तोष अधिकारी हुन् । आमाले नेपाली समुदायमा आमाले गर्ने संघर्ष देखाइएको छ । जसमा एक बिरामी बाबूको उपचार गर्न पैसाको अभाव हुँदा छोरीले निभाएको भूमिका र छोराले जिम्मेवारीबाट भाग्न खोजेको विषय देखिन्छ । अन्तिममा पिताको निधनमा छोरीले नै किरिया गर्छिन । यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा छिन् । त्यस्तै सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र छिन् ।